२१ कार्तिक २०८३, शनिबार

दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, २४ साउन । सल्यानको कालीमाटी गाउँपालिकामा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकमको जिएसएम सेवामात्र सञ्चालन भएको गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएपछि गाउँपालिका सञ्चारविहीन भएको छ । कालीमाटी गाउँपालिकालाई जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकाको बाहिरी सम्पर्कसमेत बिच्छेद भएको छ । यातायात सेवा तथा सञ्चार सेवा बन्द भएपछि यस क्षेत्रका बासिन्दा प्रभावित भएको स्थानीय कुलप्रसाद भण्डारीले जानकारी दिए ।

‘गाउँपालिकामा नमस्तेबाहेक अरु टेलिफोनले काम गर्दैन त्यही नमस्ते पनि दुई महिनादेखि नियमित छैन यसले समस्या पारेको छ,’ भण्डारीले भने, ‘लगातारको वर्षाले सदरमुकाम जोड्ने सडक तथा दाङदेखि सुर्खेत सडक पनि बन्द छ ।’

टेलिफोनको समस्याका बारे बारम्बार नेपाल टेलिकमलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए ।

कालीमाटी गाउँपालिकाका–१ वडाबाहेक सबै छ वडामा अहिले टेलिफोन सेवा अवरुद्ध भएको अध्यक्ष केसीले बताए । ‘टावरमा खराबी आएको कुरा लिखितरुपमै टेलिकमलाई जानकारी गराएर सुनुवाइ नभएपछि मन्त्रालयसम्म पनि पुग्यौं तर सुनुवाइ भएन,’ अध्यक्ष केसीले भने । लगातारको वर्षाले सडक अवरुद्ध भएकोमा त्यसलाई खुलाउन पहल भइरहेको अध्यक्ष केसीको भनाइ छ । सडक खुलाउन प्रयास भइरहेको छ लगातार अविरल वर्षा भइरहेको छ । -रासस