१ कार्तिक २०८३, शनिबार

न्युजल्याण्डकी प्रधानमन्त्री सुत्केरी विदाबाट काममा फिर्ता

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विलिङटन, १८ साउन । न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पूरा गरेर काममा फर्किएकी छिन् ।

झण्डै छ हप्ताको विदा सकेर उनी बिहीबार काममा फर्किएको अधिकारीहरूले जानकारी दिएका छन् । उनले सो अवधिलाई ‘मेरो जीवनमा सबैभन्दा छिटो बितेको छ हप्ता’ भनेकी छिन् ।

प्रधानमन्त्री भएकै बेला सुत्केरी हुने उनी विश्वको दोस्रो व्यक्ति हुन् । यसअघि सन् १९९० मा पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनेजिर भुट्टोले पनि प्रधानमन्त्री भएकै बेला सन्तान जन्माएकी थिइन् ।

अहिले ३८ पर्षकी प्रधानमन्त्री अर्डेरन न्युजल्याण्डको इतिहासमा थोरै उमेरमै प्रधानमन्त्री हुने व्यक्तिमध्येमा पर्छिन् ।

‘म विदामा भएका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएका मेरा सहकर्मीले न्युजल्याण्डको लागि राम्रो भूमिका निर्वाह गर्नुभएको छ भन्ने मैले विश्वास लिएकी छु’, उनले भनेकी छिन् ।

प्रधानमन्त्री अर्डेरनले विदाको समय आफ्नो सन्तान र परिवारजनसँग आनन्द र खुशीका साथ विताएको बताइन् ।

‘त्यो एउटा विषेश अवसर हो, त्यसलाई राम्रो रुपमा मैले अनुभूत गरेको छ, अव म पूर्ववत अवस्थामै काम गर्न सक्नेछु’, उनले भनेकी छिन् ।

आफू प्रधानमन्त्रीको काममा व्यस्त भएका बेला आफ्ना श्रीमानले आफ्नो सन्तानको हेरविचार गर्ने बताउदै उनले भनिन्, ‘म धेरै भाग्यमानी छु, यस्तो अवसर संसारका थोरै महिलाले मात्रै पाएका छन् ।’ एएफपी