
-मिना बुढाथोकी
सल्यान, १७ साउन । हाल सम्म भाडाको घरमा बसिरहेको कपुरकोट गाउँपालिकाको आफ्नै भवन निर्माण कार्य सुरु भएको छ । चार करोड १७ लाख ५५ हजार रुपैयाँमा निर्माण हुन लागेको भवनको गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले एक कार्यक्रमकाबीच बिहिबार शिलान्यास गरेका छन् ।
भवन शिलान्यास गर्दै उनले भवन निर्माण कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् । भवन अभावमा अहिले गाउँपालिकाको कार्यालयले दिदै आएको सेवा प्रवाह गर्न कठिनाई भई रहेको बताउँदै उनले नयाँ भवन निर्माणसँगै यो समस्या समाधान हुने बताए । ‘नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा सहजता हुने छ’, उनले भने ।
गत जेठ २३ गतेदेखि २०७७ सालको जेठ २३ गते सम्मको समयमा भवन निर्माण गरिसक्ने गरि रोयल कन्ट्रक्शन धनगडी २ कैलालीले ठेक्का पाएको छ । यस कम्पनीका निर्माण व्यवसायी जिमजियाङ राई (जिम्बा) ले समयमै काम सम्पन्न गर्न आफू तत्पर रहेको बताए ।
यस अघि राईले निर्धारित समयमै सल्यान स्थित ईन्जीनियर भवन, शारदा नगरपालिकाको भवन लगायत दर्जनौँ भवन निर्माण गरिसकेका छन् । कपुरकोट स्थित सेवा केन्द्रभित्र रहेको जमिनमा भवन बन्न लागेको हो । भवन निर्माणपछि गाउँपालिका कार्यालयसँगै सम्पूर्ण विषयगत कार्यालयहरु पनि नवनिर्मित भवनमै अटाउने गाउँपालिका प्रमुख सेनले बताए ।












प्रतिक्रिया