
रुकुम, १० साउन । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ गोइरीको बस्ती मोटरेबल पूलका कारण बाढीको उच्च जोखिममा रहेको छ । अविरल वर्षासँगै दिनहुँ बस्तीमाथिको अँधेरी खोलाबाट झर्ने गरेको बाढीका कारण यहाँका १५ घर परिवार जोखिममा परेका छन् ।
मध्यपहाडी लोकमार्ग पर्ने अँधेरी खोलामा निर्माण गरिएको १० मिटर लामो पक्की मोटरेबल पुलमा बस्तीमाथिबाट झरेको बाढी थुप्रिदा पुरै बस्ती जोखिममा परेको हो ।
बस्तीमाथिको अँधेरी खोलाको जंगलमा स्थानीयले वर्षेनी घर छाउने ढुङ्गा उत्खनन् गर्दा वर्षायामको समयमा यो बस्ती बाढीको उच्च जोखिममा पर्ने गरेको छ । दिनहुँ झर्ने गरेको बाढीले पक्की मोटरेबल पुललाई समेत पुरेको र मानवीय क्षति हुन सक्ने खतरा बढेपछि स्थानीयमा चिन्ता थपिएको छ ।
मध्यपहाडी लोकमार्गको यो सडकखण्डको अँधेरी खोलामा दुईवर्ष अघिमात्र पक्की मोटरेबल पुलको निर्माण गरिएको थियो । तर, यसपटकको वर्षासँगै खोलामा आएको बाढीले मोटरेबल पुल पुरेको र पुलमाथिबाट खोला बग्ने गरेकोे छ ।
बाढीले मोटरेबल पूललाई क्षति गरेकाले तीब्र गतिमा अघि बढेको मध्यपहाडी लोकमार्गको काम समेत ठप्प भएको छ । बाढीकै कारण सडक निर्माणमा जुटेका कामदारहरुलाई समस्या भएको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान नगएकोप्रती सडक निर्माण कम्पनीको जिम्मा लिएको चन्द्रा एण्ड वसन्त कन्सट्रक्सन प्रालीले दुखेसो पोखेको छ ।
दिनहुँ माथिबाट झर्ने बाढी मोटरेबल पुलमा नै रोकिने भएकाले सडकमुनिको वस्ती र मोटरेबल पुल नजिकका घरहरुलाई क्षति पुग्ने खतरा बढेको छ ।
सडकमा पुल निर्माण गर्नुअघि प्राविधिक त्रुटि गरिएकाले हाल पुलमाथिबाट बाढीसहितको खोला बग्ने गरेको छ । बाढीले मोटरेबल पुललाई ठूलो क्षति पुगेकाले प्राविधिक त्रुटि गर्ने जो कसैलाई तक्काल कारवाही गरिनुपर्ने वडा नम्बर ८ का अध्यक्ष डम्बर बहादुर मल्लको भनाई छ ।
सिंगो मध्यपहाडी लोकमार्गलाई जोड्ने मोटरेबल पुलको अवस्था संचालनमा आएको दुई वर्षभित्रै बाढीले पुरिदा हाल रुकुम मुसिकोट–चौरजहारी चल्ने यातायात सेवा अवरुद्ध भएको छ ।












प्रतिक्रिया