
काठमाडौँ, १० साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि संयुक्त अरब ईमिरेट्स (युयई)का राजदूत साईद हम्दान मोहम्मद अल नाक्बिले शिष्टचार भेटवार्ता गरेका छन् ।
बिहीबार गृहमन्त्रालयमा भएको भेटमा नेपाल–युयई द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको छ । भेटमा गृहमन्त्री थापाले नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको अवसर सृजना गरेर युयईले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
यस्तै उनले युयईमा कार्यरत नेपालीहरुको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदूतसँग आग्रह गरे । सुन तस्करी सम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युयई सरकारको तर्फबाट गरिएको सहयोगका लागि समेत गृहमन्त्री थापाले धन्यवाद दिए ।
भेटमा राजदूत नाक्बिले नेपालमा सुन तस्करीबारे गरिहेको अनुसन्धानको क्रममा नेपालको आग्रह अनुसार एक व्यक्तिलाई युयईमा पक्राउ गरिएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी दिए ।
उनले मानवतस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युयईबीच कुनै किसिमको सम्झौता नभएको कारण केही समस्या देखिएको भन्दै नेपालले सो किसिमकको सम्झौता गर्न चाहे युयई तयार रहेको प्रष्ट पारे ।
भेटमा युयईका उपप्रधान तथा गृहमन्त्रीको तर्फबाट राजदूत नाक्बिले गृहमन्त्री थापालाई युयई भ्रमणका लागि निमन्त्रणा गरे ।












प्रतिक्रिया