२१ कार्तिक २०८३, शनिबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ साउन । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा नेपाल र कोरिया बीचको कुटनीतिक सम्बन्ध, व्यापार, लगानी र रोजगारीको क्षेत्रमा हुँदै आएको सहकार्यबारे चर्चा भएको थियो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दुई देशका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको बताए ।

उनले कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दक्षिण कोरियाले नेपाललाई उच्च प्रथामिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पु¥याएको सहयोगप्रति आभार व्यक्त गरे ।

‘नेपालका सरकारी कर्मचारी तथा विद्यार्थीलाई कोरियाले छात्रवृत्तिमार्फत उच्च शिक्षाको अवसर दिएको छ,’ भेटमा उनले भने, ‘ईपीएस (ईम्लाएमेन्ट प्रमिट सिस्टम)मार्फत नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको छ ।’

अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरियाको नेशनल एसेम्बली र नेपालको संसदबीच सुमधुर सम्बन्ध रहेको बताउँदै दुई देशको ‘संसदीय मैत्री समूह’ छिट्टै स्थापना गर्न नेपाल इच्छुक रहेको बताए । नेपाल र कोरियाबीच सन् २००२ मा संसदीय मैत्री समूह स्थापना भएको थियो । तर, अघिल्लो व्यवस्थापिका संसदले त्यसलाई निरन्तरता दिन सकेको थिएन ।

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका)मार्फत नेपालको सडक, जलविद्युत, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । ‘नेपालको विकासमा कोरियाले सहयोग गर्दै आएको छ,’ उनले भने, ‘नेपाल अहिले तीन तहको निर्वाचन सम्पन्न गरी समृद्धि र विकासतर्फ अगाडि बढ्ने प्रयासमा रहेकोले यसमा कोरिया जस्ता मित्रराष्ट्रको साथ हुने विश्वास लिएको छु ।’

भेटमा कोरियाका राजदूत योङ सिकले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढ्दै गएको बताए । नेपालमा व्यापार तथा पूर्वाधारको क्षेत्रमा काम गरिरहेका कोरियाली नागरिकले भिषा थपका लागि केही झण्झट भोग्नुपरेको जानकारी दिए ।

त्यसैगरी उनले कोरियामा काम गरेर फर्किएका नेपालीका लागि नेपालमै रोजगारी दिलाउन हुन सक्ने सहयोगबारे दूतावासले अध्ययन गरिरहेको बताए । नेपाल सरकारसँग सहकार्य गरेर नेपालको विकासमा साझोदारी र सहयोग गर्न कोरिया तयार रहेको पनि राजदूत सिकले स्पष्ट पारे ।