२१ कार्तिक २०८३, शनिबार

डा. केसीलाई च्याँखे थाप्दैमा सरकारको रौं पनि हल्लिन्नः मुख्यमन्त्री गुरुङ

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-बिजय चालिसे

नवलपुर, ७ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले डा. गोविन्द केसीलाई बोकेर नेपाली काँग्रेसले च्याँखे थापेको आरोप लगाएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृती सभालाई नवलपुरको कावासोतीमा सोमबार सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले डा. केसीलाई च्याँखे थाप्दैमा सरकारको रौं पनि नहल्लिने टिप्पणी गरे । । उनले एक व्यक्तिलाई उचालेर आन्दोलन गर्दैमा माग पुरा गर्न नसकिने प्रष्ट पारे ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका गुरुङले अब नेपालमा कम्युनिष्ट सरकार २५ वर्षसम्म टिक्ने दावी गरे । उनले नेपाली काँग्रेस अहिले नेतृत्वबिहिन जस्तै भएको टिप्पणी समेत गरे । ‘काँग्रेसको नेतृत्व अहिले संकटमा छ’, गुरुङले भने, ‘अब डा. गोविन्द केसीलाई चिकित्सक पेशाबाट राजीनामा गर्न लगाएर काँग्रेसको सभापति बनाए हुन्छ ।’ कम्युनिष्ट सरकारले जनजीविकाका सवालमा राम्रो गर्दै गईरहेकाले काँग्रेस अत्तालिएको गुरुङको भनाई छ ।

गुरुङले सबै निजि स्वास्थ्य संस्थाहरुलाई दुईदिन भित्रै राष्ट्रियकरण गर्न सकिने भएपनि यो सरकार व्याक्तिगत पुँजीको संरक्षणमा पनि उत्तिकै संवेदनशिल रहेको स्पष्ट पारे । शिक्षालाई सेवामुखी नभै नाफामुखी बनाउने काम काँग्रेसले गरेको आरोप लगाउँदै गुरुङले विधिको शासन, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रका विषयमा काँग्रेसले पाठ सिकाउन नपर्ने बताए ।

फरक प्रसंगमा मुख्यमन्त्री गुरुङले नवलपुर गण्डकी प्रदेशको दक्षिण ढोका भएको बताए । उनले नवलपुर दक्षिण ढोका र कोरला नाका उत्तरी ढोका भएको भन्दै दुवै ढोकालाई बलियो बनाए मात्रै सम्वृद्व गण्डकी प्रदेश बन्ने बताए । नवलपुरलाई सम्वृद्व बनाउन प्रदेश सरकार लागिरहेको बताउदै गुरुङले यस क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्न आफू प्रतिवद्व रहेको विश्वास दिलाए । उनले गण्डकी प्रदेशका कुन क्षेत्रमा बिजुली बत्ती पुगेको छैन त्यस ठाउँको खाका लिएर आए दुई वर्षभित्र बिजुली बालेरै छाड्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य एंव प्रतिनिधिसभा सदस्य तिलक महतले ५ वर्षसम्म प्रतिक्षा गरेर बस्न नेपाली काँग्रेसलाई आग्रह गरे । जनताले ५ वर्षका लागि जनमत दिएर पठाएको सरकार भएकाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेर ५ वर्ष सम्म बस्न सुझाव दिए ।

त्यस्तै पार्टीका केन्द्रिय सदस्य किशन शर्मा गैरेले दुई कम्युनिष्टहरु एक भएको देखेर काँग्रेस अत्तालिएको भन्दै दुबै पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।