२१ कार्तिक २०८३, शनिबार

अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माणले गति लिदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ललितपुर, ६ साउन । ललितपुरको नख्खुस्थित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा ५ फीटको फाईबरको बुद्ध मूर्ति प्रतिस्थापन गरिएको छ ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले बुद्ध वचन पाठ गर्दै सो मूर्तिको एक समारोहकाबीच अनावरण गरे । सो अवसरमा भिक्षु मैत्रीले ध्यान केन्द्रको निर्माणले शान्ति, करुणा र आध्यात्मिक ज्ञानको विकासमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

अनावरणपछि महासंघका महासचिव भिक्षु कौण्डन्य, भिक्षु पञ्ञारतनं, भिक्षु पञ्ञासार, भिक्षु धर्मानन्द र भिक्षु तिस्स लगायतले शान्ति, मैत्रीको कामना गर्दै परित्राण पाठ गरे ।

समारोहमा भिक्षु कौण्डन्यले धेरैले ललितपुरको नख्खु भन्ने बितिक्कै जेल सम्झिने गर्दै आएकोमा अहिले नख्खु भन्ने बितिक्कै ध्यान केन्द्रपनि सम्झिन थालेको बताउँदै यसले ध्यान ज्ञानको अभ्यासबाट सकारात्मक चिन्तन, शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य शोभा शाक्यले दाताले धर्मचित्त राखेर जग्गा दान दिएको उदाहरणले सर्वसाधारण सबैलाई सार्वजनिक हित सरोकारलाई दान दिनुपर्ने सन्देश प्रवाह गरेको धारणा राखिन् । प्रदेशसभा सदस्य शाक्यले केन्द्रको भवन निर्माणको लागि जग्गा उपलब्ध भइसकेको स्थितिमा सबै यथासक्य सहयोग गरेर ध्यान केन्द्र निर्माणलाई साकार तुल्याउनुपर्ने पनि खाँचो औल्याइन् ।

केन्द्रका अध्यक्ष पुष्परत्न शाक्यले मानिसहरुलाई आध्यात्मिक शान्ति, जीवनमा सकारात्मक उर्जा र सोचको विकासमा ध्यानको महत्व रहेको उल्लेख गर्दै ध्यानको अभ्यास, ज्ञानको चर्चा र देशविदेशबाट आउने बौद्ध भिक्षुहरु राख्न ध्यान केन्द्र बनाउन लागेको जानकारी दिए ।