१० कार्तिक २०८३, मंगलबार

नवलपुरमा कर कार्यालय स्थापना हुने भएपछि उद्योगी व्यवसायी उत्साहित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


–बिजय चालिसे ।
नवलपुर, ४ साउन । नवलपुरको कावासोतीमा कर कार्यालय स्थापना हुने भएको छ । नवलपुरमा कर कार्यालय नहुँदा यहाँका उद्योगी व्यवसायीहरु कर तिर्न चितवनको भरतपुर जान बाध्य छन् ।

कर कार्यालय स्थापना हुनेभएपछि यहाँका व्यवसायीहरु उत्साहित भएका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ नवलपुरका अध्यक्ष बालकृष्ण पौंडेलले जिल्लामा कर कार्यालय नहुँदा निकै सास्ती बेहोर्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,–“जिल्लामा कर कार्यालय स्थापना हुनु निकै सकारात्मक हो । यसले जिल्लाका उद्योगी व्यवसायीहरुलाई निकै सहज बनाउँछ ।” उद्योग वाणिज्य संघको पहलमा कर कार्यालय स्थापना हुन लागेकोमा उहाले प्रशंसा गर्नुभयो ।

नवलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चुनिए लगत्तै अध्यक्ष डाँसुराज पोखरेलले कर कार्यालय स्थापना गर्ने कामलाई प्राथमिकतामा राख्दै आउनुभएको थियो ।

“निरन्तरको प्रयास पछि सबैको पहलमा कर कार्यालय ल्याउन सफल भएका छौ” अध्यक्ष पोखरेलले भन्नुभयो, “अब कर तिर्न जिल्ला बाहिर जानुपर्ने उद्योगी व्यवशायीको बाध्यता हट्ने भएको छ ।”

उहाँका अनुसार कावासोतीमा कर कार्यालयका लागि घर खोज्ने काम भैरहेको र छिट्टै कार्यालय स्थापना भई काम सुचारु हुँदैछ । कर तिर्न जिल्ला बाहिर धाइरहनुपर्ने भएकाले समय पनि खेर गईरहेको यहँका व्यवसायीले गुनासो गर्दै आएका थिए ।

यसैबिच, नवलपुर उद्योग वाणिज्य संघ नवलपुरले आर्थिक वर्ष २०७५/७६ का वार्षिक कार्ययोजना पारित गरेको छ । संघका अध्यक्ष डासुराज पोखरेलको अध्यक्षतामा बसेको पुर्ण बैठकले २७ बुँदे वार्षिक योजना पारित गरेको हो ।

संघले गर्ने कार्यहरुलाई छिटो, छरितो र मर्यादित तवरले सेवा प्रवाह गर्न कार्यालयमा सफ्टवेयर जडानको कार्यलाई तिब्रताका साथ अगाडि बढाईने, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र केन्द्रबाट सम्बन्धन प्राप्त नगरेकाले सम्बन्धन दिलाउन तदारुकताका साथ आवश्यक पहल गर्ने निर्णय भएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अवैध व्यापार व्यबसायलाई निरुत्साहित गर्दै नियमित बजार अनुगमन, मुल्याङकन र मुल्यमा एकरुपता ल्याउन आवश्यक पहल गर्ने, सामाजिक उत्तर दायित्वका कार्यक्रमहरु सञ्चालन गर्ने, नवलपुरलाई औधोगिक क्षेत्रका रुपमा विकास गर्न पहल गर्ने, संघमा आवद्व सम्पुर्ण व्यबसायिहरुलाई दुर्घटना बिमा गर्ने लगायतका २७ बुँदे वार्षिक योजना सर्वसम्मत रुपमा पारित गरेको छ ।

बैठकमा संघका कानुनी सल्लाहकार भोजराज दाहाल, सल्लाहकारहरु महेन्द्र पोखरेल, चेतनाथ पोखरेल, बिष्णु भुषाल, लिला भण्डारीसहित पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।