शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

हिंसाबाट बचाउन छात्राहरुलाई आत्मरक्षा तालिम

दैनिक नेपाल २०७५ असार २५ गते १७:२३


जाजरकोट, २५ असार । महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाबाट बचाउन आत्मरक्षा तालिम शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र जिल्ला खेलकुद विकास समिति जाजरकोटको व्यवस्थानमा शुरु भएको तीन दिने प्रशिक्षणमा जिल्लाका ७५ जना छात्राहरुको सहभागिता रहेको छ । प्रशिक्षणमा कक्षा ८, ९ र १० मा पढ्ने छात्राहरु सहभागी छन् ।

‘महिला हिंसाविरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने नाराका साथ शुरु भएको राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम बुधबारसम्म चल्नेछ ।

तालिममा आत्मसुरक्षा कसरी गर्ने, आक्रमणबाट कसरी बच्ने, महिलामाथि हुने घटनाको प्रतिकार कसरी गर्ने लगायतका विभिन्न विषमया प्रशिक्षण दिइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेत (एनबी)ले जानकारी दिए ।

तालिमको उदघाटन गर्दै भेरी नगरपालिकाकी उपमेयर भावना भण्डारीले यो प्रशिक्षणले छात्राहरुको आत्मबल बढ्नुका साथै आत्मरक्षामा सहयोग पुग्ने विश्वास लिइन् ।

महिलाहरु कमजोर हुन्छन्, उनीहरुको शरीर कमजोर हुन्छ भन्ने मानसिकताले महिलामाथि विभिन्न किसिमका हिंसा हुने गरेको भन्दै भण्डारीले यस्तो प्रशिक्षणले महिलामा शारीरिक र मानसिक शक्ति बढ्ने बताइन् ।

उनले बलात्कार, यौनजन्य हिंसा लगायत विभिन्न हिंसा कम गर्न तालिम उपयोगी हुने विश्वास समेत व्यक्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित