काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालले आयोजना गरेको एकल लोकगीत प्रतियोगितामा पहिलो बनेका युवा गायक रामकुमार नेपाली गीतसंगीतकै क्षेत्रमा क्रियाशील छन् ।
लोकदोहोरी साँझमा अहिले पनि नेपालीले गाउँछन् । भन्छन्, ‘सानैदेखि गीतसंगीतमा लागियो । अहिले पनि लागेको छु । गीतसंगीत छाड्ने मन लाग्दैन ।’
रामेछाप जिल्लाको मन्थली स्थायी घर भएका गायक नेपाली गीतसंगीतमा लागेकै एकदशक बढी भइसकेको छ । उनले लोकदोहोरीको क्षेत्रमा एक सयभन्दा धेरै गीतमा स्वर दिएका छन् । स्वर मात्रै होइन उनले संगीत पनि दिने गरेका छन् ।
उनले ‘दुई रुपियाँको बिँडी…’ संगीत दिएका छन् । ‘चौबन्दीको फुर्का…’, ‘मायालाई जोख्ने तराजु…’ जस्ता गीतहरूमा उनको स्वर रहेको छ ।
प्रतिस्ठानको पुरस्कार जितेपछि उत्साहित देखिएका गायक नेपालीले पुरस्कार पाएसँगै आफ्नो दायित्व झन् बढेको सुनाए ।
‘देशभरिबाट ४८० प्रतिस्पर्धीलाई उछिनेर पुरस्कार जितेको हुँ’, उनले भने, ‘मलाई थप जिम्मेवारी थपिएको महशुस गरेको छु ।’ गायक नेपालीले एक लाख, ट्रफी र प्रमाणपत्र पाएका छन् ।
पछिल्लो समयमा आएका गीतसंगीतबाट उनी खुसी छन् । भन्छन्, ‘नयाँ पुस्ताले गीतसंगीतलाई राम्रोसँग अगाडि बढाएका छन् । गीतसंगीतमा गुणस्तरीयता आवश्यक छ । मैले पनि गुणस्तरलाई सकेसम्म ध्यान दिने गरेको छु ।’
गायक नेपाली अविवाहित हुन् । मायाप्रेमका विषयमा सोधिएको प्रश्नमा उनले भने, ‘कला र गीतसंगीतको क्षेत्रमा शुभेच्छुकहरू धेरै हुन्छन् । सबैसँग हामीले राम्रो व्यवहार गर्नुपर्छ । सबै शुभेच्छुकहरूलाई माया प्रेम गर्ने गरेको छु ।’ अब कहिले विवाह गर्ने योजना छ भन्ने जिज्ञासामा गायक नेपालीले भने, ‘हेरौँ भाग्यमा कहिले लेखेको छ ?’
















प्रतिक्रिया