बैंकक, १९ असार । गुफामा हराइरहेका थाइल्याण्डका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक ९ दिनपछि सकुशल भेटिएका छन् ।
चिएङ्ग राईमा रहेको थाम लुुङ्ग गुफामा हराएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकलाई म्याराथन खोजी अभियान अन्तर्गत भेट्टाइएको हो ।
उनीहरु सबै सुरक्षित रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । बेलायती खोजकर्ताले उनीहरुलाई फेला पारेका हुन् । गुफामा हराएकाहरुलाई फेला पारिए पनि अब उनीहरुलाई सुरक्षित रुपमा बाहिर कसरी निकाल्ने भन्ने चुनौती छ ।
गुफामा पानीको स्तर बढेको छ भने हिलो पनि धेरै छ । यसले गर्दा उनीहरुलाई बाहिर निकाल्न समस्या भइरहेको छ । बेलायती खोजकर्ता बालकहरु नजिक पुगेको भिडियो सामाजिक सञ्जालमा जारी भएको छ ।
१२ बालक र उनीहरुका प्रशिक्षक गुफामा हराएको खबरले पूरै थाइल्याण्ड चिन्तामा थियो । अब उनीहरु सुरक्षित रहेको थाहा पाएपछि बाहिर कसरी निकाल्ने भन्ने चिन्ता भएको छ ।
उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्ने मार्ग फेला पार्नेमा उद्धारकर्मी आशावादी छन् । उनीहरु गुफाको ४०० मिटर भित्र छन् ।
यो हप्ताको सुरुमा थाइल्याण्ड पुगेको दुई बेलायती उद्धारकर्मी रिक स्टानटन र जोन भोलान्थेनले उनीहरुलाई भेट्टाएका हुन् । उनीहरु धेरै घण्टा लगाएकार सोमबार गुफामा हराएका बालकहरु नजिक पुगेका हुन् । एजेन्सी















प्रतिक्रिया