२ कार्तिक २०८३, सोमबार

नलगाड परियोजना निर्माणमा सघाउन जापानलाई मन्त्री पुनको आग्रह

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ असार । उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुनले जाजरकोटस्थित नलगाड जलविद्युत परियोजना निर्माणमा सघाउन जापान सरकारलाई आग्रह गरेका छन् ।

नेपालका लागि जापानी राजदूत मासामिची साईगोसँग सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पुनले परियोजना तयारी अवस्थामा रहेको भन्दै उक्त परियोजना निर्माणमा सघाउन आग्रह गरेका हुन् ।

भेटमा मन्त्री पुनले उर्जामन्त्रालयले स्वेतपत्रमार्फत १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने रणनैतिक कार्यक्रम सार्वजनिक गरेको भन्दै त्यसका लागि जापानी सहयोगको अपेक्षा राखेको बताए ।

उनले भने, ‘हामीले उर्जा र जलविद्युतको क्षेत्रमा निकै महत्वकांक्षी लक्ष्य राखेर अघि बढेका छौं, यसमा जापानबाट हामीले ऋण, सहयोग र लगानीको अपेक्षा गरेका छौं ।’

उनले जापानको निजी क्षेत्रलाई पनि नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि वातावरण बनाईदिन समेत राजदूत साईगोसँग आग्रह गरे ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले जापान नेपालको पुरानो र भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा समेत नेपालको विकासमा जापानको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

भेटमा जापानी राजदूत साईगोले नेपाल र जापानको सम्बन्ध विगतदेखी सुमधुर रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझ मजबुत बन्ने धारणा राखे ।

उनले नेपालमा जापानले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दैै आगामी दिनमा उर्जा र जलस्रोतको क्षेत्रमा काम गर्न जापान ईच्छुक रहेको बताए ।

जापानी राजदूत साईगोलले जापानले कुलेखानी–१, कुलेखानी–२ र कालिगण्डकी ए मा समेत सहयोग गरेको जानकारी दिदै आगामी दिनमा समेत उर्जा क्षेत्रमा सहकार्य गर्न जापान तयार रहेको धारणा राखे ।