
काठमाडौँ, १७ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरी निर्देशन दिएका छन् ।
‘सुखी र समृद्ध नेपाल बनाउने सरकारको संकल्पमा नेपाल टेलिकमले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्छ र गुणस्तर, राजस्व र प्रतिष्ठामा नेपाल टेलिकम सधैँ एक नम्बरमै भइरहनु पर्छ’, निरीक्षण भ्रमणको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले भने ।
उनले ‘स्मार्ट नेपाल’ बनाउन नेपाल टेलिकम पनि ‘स्मार्ट’ हुनु पर्ने बताउँदै यसबाट डिजिटल नेपाल बनाउने सरकारको चाहनासमेत पूरा गर्न सहयोग पुग्ने बताए । उलने भने, ‘नेपाल टेलिकमले पूर्वाधारको विकासमा जोड दिदै जनताको घर घरमा सेवा पुर्याउने तथा बजारमा आफ्नो प्रभुत्व जमाउने किसिमको योजना बनाउनु पर्छ र यसका लागि आवश्यक नीति, योजना र कार्यक्रम निर्माणमा आगामी दिनमा मन्त्रालयको संलग्नता रहिरहने छ ।’
कम्पनीमा क्रियाशील युनियनहरुको ज्ञान, सीप र क्षमता सहकर्मीहरुको हितमा मात्र नभई संस्थाको हितमा पनि उपयोग गर्नु पर्ने कुरामा मन्त्री बाँस्कोटाले जोड दिए । उनले अधिकार खोज्ने मात्र नभई, कर्तव्यको पनि पालना गर्नु पर्ने कुरा युनियनहरुलाई स्मरण गराउँदै राजनीति गर्नका लागि मात्र युनियनलाई प्रयोग नगर्न आग्रह गरे ।
सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विभागीय मन्त्रीबाट भएको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रविधिको द्रुत परिवर्तन, ग्राहकको बढ्दो चाहना र प्रतिस्पर्धात्मक बजार जस्ता कम्पनीका वर्तमान चुनौतीको सामना गर्न सम्पूर्ण कर्मचारीहरुलाई इमान्दारीताका साथ आफ्नो कर्तव्य पालनामा क्रियाशील हुन आग्रह गरिन् ।
उनले कम्पनीका ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिने, सेवाको मर्मत सम्भारलाई अझ छिटो छरितो पार्ने र कम्तीमा १० प्रतिशत ग्राहक संख्या र कम्तीमा १० प्रतिशत राजस्व वृद्धि गर्ने कम्पनीको उद्देश्य परिपूर्ति गर्न अनुशासित र एकजुट भई आ–आफ्नो क्षेत्रबाट कार्य गर्न सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरिन् ।
सो अवसरमा पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक अमरनाथ झाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रको वर्तमान स्थिति, कार्यक्रम र गतिविधि वारेमा जानकारी गराए । पूर्वाञ्चल क्षेत्रको निरीक्षण भ्रमणको सिलसिलामा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले असार १४ गते झापा जिल्लाको खुदुनावारीमा जडान गरिएको एम सान एक्सचेन्ज उदघाटन गरे । एक्सचेन्जमार्फत तत्काल एडीएसएल सेवा सहितको १ सय ४४ लाइन टेलिफोन वितरण गर्न सकिने छ ।
कम्पनीले भविष्यमा पूर्वाञ्चल क्षेत्रमा ७ सय ५ वटा फोरजीका टावर सञ्चालनमा ल्याउने र त्यसबाट कुल १२ लाख ६० हजार ३ सय ५ लाइन क्षमता र हाल सम्मकै उच्च गतिको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध गराउने तयारी गरेको छ ।















प्रतिक्रिया