
काठमाडौँ, १७ असार । भारतको नयाँ दिल्लीमा एकै घरका ११ जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनिहरु सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ ।
बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको छ ।
आइतबार बिहान एक जना छिमेकीले घरको आँगनमा जालमा केही शव झुण्डिएको देखेपछि तुरुन्त वरपरका बासिन्दालाई बोलाएका थिए । उनले नै प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा घरको ढोका खुल्लै थियो । केही शव घरको आँगनमा झुण्डिएको जालमा अवस्थामा थिए भने केही शव घरभित्र पंखामा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
मृतक परिवारको फर्निचर र किराना पसल छ । शनिबार राति छिमेकीहरुले घरका यी सदस्यहरुलाई देखेका थिए । तर यिनीहरु कुनै समस्यामा परेको भान हुँदैनथ्यो । उनीहरु सबै मिलनसार रहेको स्थानीयबासीले बताएका छन् ।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले यसलाई आत्महत्या भएको अनुमान गरेको छ । सामूहिक आत्महत्या गर्ने बेला एकअर्कालाई हेर्न र बोल्न नचाहेकाले सबैको आँखा र मुखमा पट्टी बाँधिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर, घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन ।















प्रतिक्रिया