४ कार्तिक २०८३, बुधबार

कार किन्दा ऋण दिने तर भैंसी किन्दा नदिने बैंकलाई अब अर्थमन्त्रालयले ‘म्याण्डेटरी’ बनाउनुपर्छ : सचिव जिसी

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १४ असार । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले बैंकहरुले कार किन्दा सुलभ रुपमा ऋण दिने गरेको तर किसानलाई भैंसी किन्दा ऋण नदिने परिपाटीको अब अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘बैंकहरुले कार किन्दा लोन दिन्छन् तर भैंसी किन्दा दिँदैन्, यसले किसानलाई प्रोत्साहन गरेन, अहिले यसबारेमा व्यापक जनगुनासो छ, अर्थमन्त्रालयले अब बैंकहरुलाई म्याण्डेटरी बनाउनुपर्छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव जिसीले ५ वर्षमा अहिलेको कृषि उत्पादनलाई दोब्बर बनाउने र आगामी २ देखि ३ वर्षभित्र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने सुनाए ।

उनले भने, ‘कृषिले नेपालको अर्थतन्त्रमा धेरै ठूलो योगदान पुर्याएको छ, त्यसमापनि धानको योगदान धेरै छ, कृषिले २९÷३० प्रतिशत योगदान अर्थतन्त्रमा पुर्याएको छ, धानको मात्रै २० देखि २१ प्रतिशत योगदान छ ।’

१५ औं राष्ट्रिय धान दिवस काठमाडौंको दक्षिणकालीमा मनाउन गैरहेको पनि उनले जनाए । उनले भने, ‘भोलि हामी देशैभरि धान दिवस मनाउन गैरहेका छौं, काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा दक्षिणकालीमा मनाउँदैछौं ।’

उनले धानको मात्रै नभएर अन्य उत्पादनको क्षेत्रमा उन्नत जातको विउ र कृषिमा यान्त्रिकरणमा जानुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा धान विज्ञ भोलामान सिंह बस्नेतले एशियाली राष्ट्रहरुलाई एक ठाउँमा ल्याउनको लागि पनि धान अहिले सेतुको रुपमा रहेको बताएका छन् ।

उनले भने, ‘नेपालमा धानले जिडिपीमा ठूलो योगदान पुर्याएको छ, धानको उत्पादन बढ्यो भने जिडिपी पनि बढ्छ, यदि उत्पादन नै घट्यो भने जिडिपी पनि घटेको छ, हाम्रो देशको अर्थतन्त्रमा कृषिको योगदान धेरै छ ।’

उनले चैते धानको उत्पादनलाई पनि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले चैते धानको उत्पादन जम्मा ७ प्रतिशतमात्रै छ, यसलाई बढाउनुपर्छ, त्यस्तै सिंचित क्षेत्रपनि बढाउनुपर्छ ।’

उनले विश्वमा रहेका ७ अर्ब मानिसहरुमा आधा भन्दा बढिको मुख्य खाना नै चामल रहेको जनाए । भोलि असार १५ धान दिवस भएकोले यसको विषयमा त्यही दिनमात्रै बहस हुनु दुःखद् रहेको बताउँदै भने, ‘भोलि हामी १५ औं धान दिवस मनाउँदैछौं, वर्षमा एक दिनमात्र यसको बारेमा छलफल तथा बहस हुन्छ, यसको बारेमा नियमित बहस होस्, सरकारले पनि विज्ञहरुसँग छलफल गर्नुपर्छ ।’