२१ कार्तिक २०८३, शनिबार

विज्ञान नै पढ्न चाहन्छन् मेधावी विद्यार्थी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफलमा ‘ए प्लस’ ग्रेड सफल हुने छात्रा सबी विश्वकर्मा पारिवारिक र आर्थिक स्थिति कमजोर भए पनि कक्षा ११ मा विज्ञान विषय पढ्न चाहन्छिन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकाको सिद्धिपुरस्थित अनन्त माध्यमिक विद्यालयमा पढेकी विश्वकर्माका बुबाआमा छैनन् । टुहुरो भए पनि मेधावी भएकाले विद्यालयको छात्रवृत्तिमा पढ्दै आएकी विश्वकर्मालाई परीक्षाफलमा ४ दशमलव ०२ स्तरीकृत अंक (जिपिए) आएपछि विज्ञान विषय पढ्ने चाहना बढेको हो तर उनका पढाइका लागि कसले खर्च जुटाइदिने भन्ने स्पष्ट भइसकेको छैन ।

सो विद्यालयका प्रधानाध्यापक गोविन्द सञ्जेल आफ्नो विद्यालयमा कक्षा ११ र १२ शुरु नभएकाले विश्वकर्मालाई अन्य विद्यालयमा विज्ञान पढ्ने वातावरणका लागि सहयोग र सिफारिस गर्ने बताउनुहुन्छ ।

पारिवारिक र आर्थिक स्थिति बलियो नभए पनि परीक्षामा अति उत्तम भएका विद्यार्थीहरु प्रायः विज्ञान विषयकै रोजाइमा देखिन्छन् । काठमाडौँको धापासीस्थित त्रियोग माविबाट ४ दशमलव ०२ स्तरीकृत अंकसहित अति उत्तम भएकी समृद्धि सिलवालले विज्ञान पढ्न सेन्ट जेभियर्समा फाराम बुझाइसकेकी छिन् ।

विज्ञान विषय नै रोज्नुको कारणबारे समृद्धिको भनाइ छ, ‘विज्ञान पढ्ने मान्छे लगनशील र मेहनती हुने भन्ने आफूले सुनेको र आफ्नो रुचि पनि चिकित्सा क्षेत्रमा जाने भएकाले यो विषयका लागि फाराम बुझाएको हुँ ।’ उनी सेन्ट जेभियर्समा नभए अन्य विद्यालयमा भए पनि सोही विषय पढ्ने सोँचमा छिन् ।

राम्रो पढाइका लागि शिक्षक, बुबाआमाको सहयोग त हुन्छ तर पढ्ने भन्ने विद्यार्थी आफैँले रहेछ भन्ने बोध एसइईको परीक्षा र यसको नतिजाबाट आफूलाई बोध भएको समृद्धिको बुझाइ छ ।

काठमाडौँकै नेशनल मोडल साइन्स स्कुल, गोङ्गबुबाट ४ दशमलव ०२ स्तरीकृत अंकसहित अति उत्तम नतिजा ल्याउने आराध्या ज्ञवाली पनि विज्ञान पढ्ने तयारीमा छिन् । कक्षा ११ र १२ मा विज्ञान र पछि गएर कम्प्युटर इञ्जिनियरमा जाने छोरीको सोचाइ रहेको उनका पिता भरतमणि ज्ञवाली बताउनुहुन्छ ।

काठमाडौँको बाफलस्थित ज्ञानोदय माविबाट ३ दशमलव ९५ जिपिएसहित अति उत्तम (ए प्लस) ग्रेड ल्याएकी अञ्जना ठाकुर पनि विज्ञान नै पढ्ने योजनामा छिन् तर कहाँ पढ्ने भन्ने उनले निधो गरिसकेकी छैनन् ।

सरकारले कक्षा ११ र १२ मा विज्ञान र गणितलाई अनिवार्यबाट हटाई ऐच्छिक बनाउने गरी पाठ्यक्रमको प्रारुप परिवर्तन गर्न प्रस्ताव गरेको सन्दर्भमा पनि अति उत्तम विद्यार्थी प्रायः विज्ञान विषय नै लिन चाहने ज्ञानोदयका सामाजिक विषयका शिक्षक गोविन्द भण्डारी बताउनुहुन्छ ।

विसं २०३१ को प्रवेशिका परीक्षामा सर्वाेत्कृष्ट हुनुभएका शिक्षा मन्त्रालयका पूर्व सचिव किशोर थापा भने मेधावी विद्यार्थीले जसरी पनि विज्ञान पढ्नुपर्छ भन्ने नभएको तर्क गर्नुहुन्छ । थापाले मेधावी विद्यार्थीले राजनीतिक शास्त्र विषय लिएर उनीहरु राजनीतिमा लागेमा मुलुकको समृद्धिका लागि योगदान मिल्ने बताउनुभयो ।

संवत् २०७४ को एसइई परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४ र ‘ए’ प्राप्त गर्ने ४६ हजार १३० विद्यार्थी थिए ।

परीक्षाफलमा प्राविधिक त्रुटि सुधारपछि केही विद्यार्थीको ग्रेड वृद्धिसमेत भएको परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरले जनाएको छ । माथिल्लोभन्दा तल्लो ग्रेडका विद्यार्थीको संख्या बढी हुने भएकाले कक्षा ११ मा भर्ना हुनेमध्ये विज्ञानभन्दा शिक्षा र व्यवस्थापनतर्फका विद्यार्थी बढी हुने गरेका छन् ।

कक्षा ११ र १२ मा पनि अक्षराङ्कन प्रणाली लागू भएकाले कुन विषयमा कति विद्यार्थी उत्तीर्ण छन् भन्ने विवरण उपलब्ध नहुने राष्ट्रिय परीक्षा बोर्डका उपनियन्त्रक जयन्ता सत्यालले बताउनुभयो । –रासस