काठमाडौँ, ९ असार । रसियामा जारी विश्वकप फुटबलमा शनिबार पनि ३ खेल हुँदैछन् । पहिलो साँझ ५ः४५ वजे बेल्जियम र ट्युनिसिया, दोस्रो ८ः४५ वजे दक्षिण कोरिया र मेक्सिको र अर्को राति ११ः४५ वजे जर्मनी र स्वीडेनबीच प्रतिष्पर्दा हुँदैछ ।
यी तीनमध्ये जर्मनी र स्वीडेनबीचको खेललाई निकै चासोका साथ हेरिएको छ । जर्मनी उपाधी रक्षाका लागि मैदानमा उत्रदैँछ भने बेल्जियम, स्वीडेन र मेक्सिको समुह चरणको खेलमा दोस्रो जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गर्ने दाउमा छन् ।
जर्मनी आफ्नो पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएकाले पनि उसलाई आजको खेलमा जादु गर्नै पर्ने हुन्छ । समुह चरणको पहिलो खेलमै हार बेहेरेको यो जर्मनीको दोस्रो पटक हो । यसअघि १९८२ को विश्वकपमा अल्जेरियासँग हारेको थियो, तर त्यतिबेला जर्मनी फाइनलसम्म भने पुगेको थियो ।
जर्मनीले स्वीडेनविरुद्ध भएका ४ विश्वकप खेलमध्ये ३ मा जित हात पारेको छ । १९५८ मा भने जर्मनीलाई जित्दा आयोजक स्वीडेन फाइनलसम्म पुगेको थियो । पहिलो खेलमा दक्षिण कोरियालाई १–० ले हराएको स्वीडेन अत्मविश्वासका साथ मैदानमा उत्रनेछ ।
शनिबारको अर्को महत्वपूर्ण खेल हो बेल्जियम र ट्युनिसियाबीचको खेल । बेल्जियमले यसअघिका सबै विश्वकप खेलमा अफ्रिकन प्रतिद्वन्द्वीलाई पराजित गरेको छ, तर २००२ मा ट्युनिसियासँग बराबरी भएको थियो । यो नै अफ्रिकन प्रतिद्वन्द्वीबीचको खेलमा नजितेको एउटा खेल हो । विश्वकपमा बेल्जियम र ट्युनिसियाबीचको यो दोस्रो भेट हो । २००२ मा भएको पहिलो भेटमा ट्युनिसियाले बेल्जियमलाई १–१ को बराबरीमा रोकेको थियो ।
पहिलो खेलमा पानामालाई ३–० ले हराएको बेल्जियम दोस्रो जित दर्ता गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्ने दाउमा छ । त्यस्तै इङल्याण्डसँग २–१ ले पराजित भएको ट्युनिसियाले अन्तिम १६ मा स्थान बनाउन बेल्जियमलाई जित्नै पर्ने हुन्छ ।
शनिबार नै दक्षिण कोरिया र मेक्सिकोबीच पनि खेल हुँदैछ । डिफेन्डिङ च्याम्पियन जर्मनलाई १–० ले स्तब्ध बनाएको मेक्सिकोको मनोबल उच्च छ भने स्वीडेनसँग १–० ले हारेको दक्षिण कोरिया अघिल्लो चरण प्रवेशका लागि यो खेल जित्नै पर्ने हुन्छ ।















प्रतिक्रिया