
काठमाडौंँ, ७ असार । आइएमई लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत विशेष छुट पाउनेछन् । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ ।
त्यसैगरी चिकित्सकीय परामर्श लगायत विभिन्न दश प्रकारका ल्याब परीक्षण सेवाका लागि जम्मा रु. एक हजार पाँच सय शुल्कमा स्वास्थ्य परीक्षण प्याकेज समेत प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ ।
सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट लोयल्टी कार्यक्रम प्रमुख प्रफुल्ल रिजाल र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको तर्फबाट बजार तथा व्यापार पर्वद्धन विभाग प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । यो सम्झौता आउँदो ११ गतेदेखि एक वर्षसम्मका लागि लागु हुनेछ ।
आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।
आफ्नो स्थापना देखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु:ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।















प्रतिक्रिया