३ कार्तिक २०८३, मंगलबार

ब्राजिललाई ४० वर्षपछि चखाइदियो स्वीट्जरल्याण्डले असफलता

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, ४ असार । विश्वकप फुटबलको उपाधिको प्रमुख दाबेदार ब्राजिल ४० वर्षमा पहिलो पटक विश्वकपको पहिलो खेलमा जित निकाल्न असफल भएको छ ।

ब्राजिलले सन् १९७८ यताका सबै विश्वकपमा आफ्नो पहिलो खेलमा जित निकाल्दै आएको थियो । यसपटक रुपमा जारी विश्वकपमा समूह ‘ई’मा रहेको ब्राजिलले आफ्नो पहिलो खेलमा जित निकाल्ने लामोसमयदेखिको इतिहासलाई जोगाउन सकेन ।

रोस्तोभ अन डोनमा भएको खेलमा स्वीट्जरल्याण्डले विश्व विजेताको प्रमुख दाबेदारका रुपमा रहेको ब्राजिललाई १–१ को बराबरीमा रोक्यो ।

नेइमार, गाब्रियल जिसस, विलियन, फिलिप कोन्टिन्होसहितको टिटेको बलियो टिम स्वीट्जरल्याण्डसँग भरमग्दुर प्रयासका बाबजुद पनि रोकिन पुग्यो ।

२० औँ मिनेटमा फिलिप कोन्टिन्होको गोलबाट ब्राजिलले सुरुवाति अग्रता लियो । पहिलो हाफमा लिएको अग्रता उसले दोस्रो हाफमा जोगाउन सकेन । स्वीट्जरल्याण्डका लागि ५० औँ मिनेटमा स्टीभन जुबेरले बराबरी गोल फर्काए ।

त्यसपछि पनि ब्राजिलले गोल गर्ने राम्रा प्रयासहरु गरेको थियो । गाब्रियल जिसस, नेइमार, मार्सेलोसहितका खेलाडीले गोल गर्ने राम्रो प्रयास गरे ।

झण्डै तीन महिना चोटका कारण मैदान बाहिर रहेर मैदान फर्किएका नेइमारले यो खेलमा आफ्नो दिलोज्यान दिएर प्रदर्शन गरे । तर गोल भने गर्न सकेनन् ।

कोन्टिन्होले गरेको लंग रेन्जको सुन्दर गोलबाट लिइएको अग्रता जोगाउन सकेको भए ब्राजिलका लागि यो विश्वकपको सुरुवात राम्रो हुने थियो । जित निकाल्न नसके पनि ब्राजिल हारबाट जोगियो ।

यस्तै हेड गोल मार्फत स्वीट्जरल्याण्डका जुवेरले टिमलाई हारबाट जोगाए । फिफा बरियतामा छैटौँ स्थानमा रहेको स्वीट्जरल्याण्डले दोस्रो स्थानमा रहेको ब्राजिललाई रोकेको हो ।

यो खेलको निर्धारित समय मात्रै होइन इन्जुरी समयको अन्तिम सेकेण्डमा पनि नेइमारले गोल गर्ने राम्रो प्रयास गरेका थिए ।

समूह ई मा यसअघि सर्बियाले कोस्टारिकालाई हराएकाले उ समूहको शीर्ष स्थानमा छ । युवा टिमले भरिएको ब्राजिलले चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकपको नमिठो अनुभव भुलाउने प्रयासमा छ । एजेन्सी