
-मिना बुढाथोकी
सल्यान, २ असार । सल्यानमा एक हजार वढि चमेरा रहेको एक गुफा ओझेलमा परेको छ । कुमाख गाउँपालिका–२ स्विकोट रुमालगाउँमा रहेको भूमेश्वर गुफा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
हजारौंको संख्यामा चमेराको बासस्थान रहेको भुमेश्वर गुफा रुमाल गाउँ नजिकै भए पनि ओझेल परेको स्थानीयको भनाई छ । स्थानीय प्रेम भाटका अनुसार यहाँ अवस्थित गुफाको लम्वाई झण्डै पाँच सय मिटर रहेको छ भने चौडाइ चार मिटर रहेको छ ।
स्थानीय प्रेमले भने, ‘गुफाको भित्र पस्ने भाग साघुरो छ, दुई मिटर ओरालो झरे भित्र फराकिलो भू भाग देख्न सकिन्छ,गुफा भित्र पस्दा चिसो हावा वहने गर्दछ, भने गुफा भित्र विभिन्न देवी देवता, पशु पंक्षिका आकृतिहरु देख्न सकिन्छ ।’
गुफाको दुवै भागवाट भित्र वाहिर गर्न सकिने उनले बताए । उनले भने, ‘वस्ति माथि भएकाले माथीवाट तल झर्ने गर्दछौ, गुफा भित्र चमेराहरुको वासस्थान रहेको छ, गुफाको भित्रि भागमा तिन तिर १०/१५ मिटरमा फैलिएका प्वाल समेत रहेका छन, जहाँ हजारौंको संख्यामा चमेराहरु बसेको देख्न सकिन्छ ।’
यस्तै भुमेश्वर गुफामा चमेराहरु वाह्रै महिना बस्दै आएको वडा नम्बर २ का वडा अध्यक्ष शेर बहादुर रावतले बताए । उनले भने, ‘यहाँ चमेराहरु बाह्रै महिना बस्ने गर्छन्, चमेरा हेर्न पनि धेरै मानिसहरु आउने गर्छन, यस क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके पर्यटक भित्र्याउने राम्रो सम्भावना रहेको छ ।’
गुफाको माथिल्नो भागमा शिव मन्दिर रहेको छ । यहाँ स्थानीयहरुले पुजा अराधना समेत गर्दै आएका छन् । तर प्रचार प्रसार, भौतिक पूर्वाधार निर्माण गर्न सके आन्तरिक र वाह्य पर्यटक भित्र्याउन सकिने नेपाली काँग्रेसका स्थानीय नेता मोतीलाल खत्रीले बताए । उनले भने, ‘गाउँदेखी गुफा सम्म पुग्ने सडकको ट्रयाक खोलियो तर काम पुरा भएन, अहिलेसम्म काम अधुरै रहेको छ, खोलिएको ट्रयाक पनि अलपत्रै रहेको छ ।’
अहिले आएर गाउँपािलकाले भने यस क्षेत्रलाई जिल्लाको पर्यटकीयस्थल बनाउने हिसाबले अध्ययन गर्न शुरु गरेको छ । कुमाख गाउँपालिमा रहेका धार्मिक, प्राकृतिक पर्यटकिय स्थलहरुको तथ्याङक संकलन गरेर अध्ययन गरिने कुमाख गाउपालिका अध्यक्ष दिलमाया वुढाले बताईन् ।
‘यस क्षेत्रमा रहेका पर्यटकीय स्थलको तथ्याँक संकलन गरि अध्ययन गर्ने छौं उनले भनिन, पर्यटनका विकासका लागी गाउँपालिकाले आवश्यक कदम चाल्ने छ ।’ यस क्षेत्रमा रहेको भुमेश्वर गुफा लगायत अन्य पर्यटकीय तथा धार्मिक स्थलको आन्तरिक र वाह्य पर्यटन क्षेत्र विकासलागि आवश्यक योजना ल्याईने गाउँपालिका प्रमुख बुढाले बताईन् ।












प्रतिक्रिया