काठमाडौं, १ असार । भूकम्पलगत्तैको लाङटाङ, बीच अवधिको लाङटाङ र पछिल्लो अवधिको लाङटाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङटाङ जर्नी : ट्रेजेडी टु इन्स्पिरेसन’ शीर्षकको कार्यक्रम राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ ।
लाङटाङ सद्भावना दूत अशोक सिलवालको आयोजनामा भृकुटीमन्डपस्थित नेपाल पर्यटन बोर्ड (एनटीवी)को अडिटोरियम हलमा सम्पन्न सो कार्यक्रममा सिलवालले उनी निर्देशित ‘घर फर्किरहेका मान्छे’ र ‘लाङटाङ अपडेट : वेकिङ एन्ड वाकिङ्’ शीर्षकका दुई वृत्तचित्र प्रदर्शनमात्र गरेनन्, भुकम्पपछि पटक पटक लाङटाङ जाँदाको रोचक र मार्मिक अनुभव पनि सुनाए ।
‘घर फर्किरहेका मान्छे’ शीर्षकको पहिलो वृत्तचित्रमा सिलवालले उनीसँगै लाङटाङ फर्किंदै गरेका स्थानीयको कथालाई समेटेका छन् । दोस्रो वृत्तचित्र ‘लाङटाङ अपडेट ः वेकिङ एन्ड वाकिङ्’ भुकम्पपछि लाङटाङ ट्रेक गर्दै गरेको पहिलो विदेशी पदयात्री समुहको सुसांकेतिक कथा हो ।
‘मृत्युबाट जीवनमा फर्केको लाङटाङको लयलाई कार्यक्रममार्फत देखाउने मेरो प्रयास हो । भुकम्प र हिमपहिरोको वियोगबाट उठेको यो हिमालयको कथा अरु थुप्रै गाउँ र ठाउँका लागि प्रेरणा बन्नेछ’, कथावाचन र श्रव्यदृश्यसहितको कार्यक्रमको सुरुमा निकै भावुक भएर बोल्न समेत नसकेका लाङटाङ सद्भावना दूत सिलवालले हलमा सयौं अतिथी दर्शकलाई सम्बोधन गदै भने, ‘तपाईंहरुको यो बेजोड उपस्थिति भुकम्पको भयानक त्रासदीबाट उत्रेर जीवनको उज्यालोमा फर्किएका लाङटाबासीप्रतिको सम्मान पनि हो ।’ एनटीवीसँगको साझेदारीमा आयोजित कार्यक्रममा काठमान्डुमा अध्ययनरत लाङटाङका विद्यार्थीहरुको पनि उल्लेख्य उपस्थिति थियो ।












प्रतिक्रिया