शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

नेपाललाई सनातन हिन्दुराज्य कायम गरिनुपर्छ : स्वतन्त्र नागरिक समाज

दैनिक नेपाल २०७५ जेठ ३० गते १५:३८


काठमाडौं, ३० जेठ । स्वतन्त्र नागरिक समाजले नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र नागरिक समाजले पत्रकार गरेर नेपालको राष्ट्रिय पहिचान हराउँदै गएकोले नेपाललाई धर्मसापेक्ष हिन्दुराज्य कायम गर्नुपर्ने सरकारसँग माग गरेको हो ।

स्वतन्त्र नागरिक समाजका केन्द्रीय संयोजक हेमविक्रम सिलवालले संविधानमा धर्मनिरपेक्षता राखिएकोमा आपत्ति प्रकट गरेका छन् । उनले भने, ‘नेपाल संसारकै एकमात्र सनातन हिन्दुराज्य हो, ऋषिहरुको देश नेपाल हो, हिन्दुधर्मको उद्गम भूमि नेपाल हो, ८० प्रतिशतभन्दा बढि जनताले हिन्दुधर्म मान्छन् यस्तो अवस्थामा नेपाललाई धर्मनिरपेक्षता घोषणा गर्न मिल्छ ? केही नेता र राजनीतिक दलहरुको मनोमानीका आधारमा भएको खेल हामीलाई स्विकार्य छैन् ।’

उनले अघि थपे, ‘नेपालको पहिचान एकता अखण्डता, स्वाभिमान तथा सम्पूर्ण नेपालीहरुबीच सद्भाव कायम राख्न शाह बंशीय राजसंस्थाको भूमिका अपरिहार्य रहेको र हाम्रो धर्मसंस्कृति, परम्परा, मूल्य मान्यताको रक्षा गरि राष्ट्रिय पहिचानको निम्ति पनि नेपाललाई हिन्दुराष्ट्र कायम गर्न आवश्यक छ, नेपाललाई हिन्दुराष्ट्र कायम गर्नको लागि स्वतन्त्र नागरिक समाज लाग्ने छ ।’

वरिष्ठ पत्रकार प्रेम कैदीले धार्मिक रुपमा नेपालमाथि विदेशी आक्रमण गरेको स्थितिमा सरकार चुप लागेको आरोप लगाएका छन् । उनले अप्रत्यक्ष रुपमा धार्मिक, आर्थिक, समाजिक रुपमा दलालहरुले समानान्तर राज्य चलाईरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित