
काठमाडौँ, २९ जेठ । संवैधानिक परिषद्को बैठक मंगलबार बस्दैछ । संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठक साँझ पाँच बजे बस्ने तय भएको छ ।
बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिसबारे छलफल हुने कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । संसदका दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेपछि परिषद बैठकबाट प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागिएको हो ।
परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीशका लागि यसअघि नै न्यायपरिषद सचिवालयले वरिष्ठताका आधारमा क्रमशः दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको छ ।
प्रधानन्यायाधीश सिफारिस गर्ने परिषद बैठकमा कानुनमन्त्री पनि सदस्यका रुपमा सहभागी हुने संवैधानिक व्यवस्था छ । यस्तै, संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने संवैधानिक व्यवस्था छ ।
प्रधान्यायाधीश पद रिक्त रहेको अवस्थामा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा कानुन तथा न्यायमन्त्री सदस्यको रुपमा रहने व्यवस्था छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पद पनि खाली रहेको छ । दिप बस्न्यातको अवकाशपछि नविन घिमिरेले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेका छन् । संवैधानिक परिषदमा यसबारे पनि छलफल हुने सम्भावना छ ।
तर, संवैधानक परिषद बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने बाहेक अरु एजेण्डा थाहा नभएको कानुनमन्त्री तामाङले जानकारी दिए ।















प्रतिक्रिया