
-नृपराज हमाल
हुम्ला, २८ जेठ । हुम्लाको सिमकोटमा उडान गर्ने विमान कम्पनीहरुले जेठ १० गतेबाट नयाँ भाडादर कायम गरे लगत्तै भाडादर घटाउन गरिएको मागप्रति सरोकारवालहरुले चासो नदिएको भन्दै हुम्लाका नागरिक संघ संगठनहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।
सिमकोटबाट नेपालगञ्जसम्मको भाडादर ७ हजार एक सय नव्वे कायम गरेपछि हुम्लाबाट विरोध जनाईएको छ । सिमकोटबाट नेपालगञ्जसम्मको पुरानै हवाई भाडा ५ हजार दुई सय नव्वे कायम गरिनु पर्ने भन्दै यसअघि तीन पटक जेठ ८ र १३ गते दुई/दुई बुँदे मागपत्र र जेठ २२ गते चारवुँदे ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाईएको थियो । माग गरिएका बिषयमा सम्बन्धित निकायले सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नु परेको जनाईएको छ ।
पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत भोली जिल्लाका सबै स्थानीय तहका कार्यालयहरुमा धर्ना दिने, जेठ ३० गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, जेठ ३१ गते सिमकोट बजार बन्द गर्ने, असार १ गते नागरिक उड्डयन कार्यालय, सिमकोटको गेटमा कालो पट्टि बाँधी धर्ना दिने र असार २ गते नागरिक उड्डयन कार्यालय, सिमकोट बन्द गर्ने कार्यक्रम रहेका छन् । आन्दोलनकारीहरुले पहिलो चरणमा माग सम्बोधन नभए पुनः दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
हुम्लाका राजनीतिक दल, उद्योग बाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटेल व्यवसायी संघ, नेपाल प्राध्यापक संघ, नेपाल पत्रकार महासंघ र नागरिक समाज हुम्लाले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
चाटर्ड उडान बन्दगरि भाडादर समायोजन गर्ने नाममा दुबैतर्फ सिमकोट देखि नेपालगञ्ज र नेपालगञ्ज देखि सिमकोटको रु ७ हजार एक सय नव्वे कायम गरेको भाडादर हुम्ली जनतालाई भ्रमित र अन्यायपूर्ण भएको उल्लेख गरिएको छ ।
यसअघि नेपालगञ्जबाट हुने सहुलियत उडान हटाएर नयाँ भाडादर कायम गरिएको भएपनि यात्रुहरुले सहजै टिकट नपाएकोले पुनःआन्दोलनका कार्यक्रम गर्नु परेको हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष नामग्याल तामाङ्गले बताए ।












प्रतिक्रिया