
दमौली, २८ जेठ । दिगो आर्थिक विकासका लागि स्थानीय स्रोतको अधिकतम परिचालन गरी सवल र सफल मुलुक निर्माणका लागि सहकारी अभियानको भूमिकालाई बढाउनु पर्नेमा तनहुँको दमौलीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले सोमबार आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । सहभागीहरुले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनका लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिदै त्यसका लागि स्थानीय स्रोत र साधनको अधिकतम परिचालनमा जोड दिएका हुन् । स्थानीय स्रोतको परिचालनका लागि सहकारी क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका संयोजक शालिकराम वाग्लेले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्नका लागि सहकारी क्षेत्रको सवलीकरण आवश्यक रहेको बताए । उनले देशमा खेर गैरहेका स्रोत र साधनको उपयोग गरी जनतालाई आयआर्जनका साथै व्यवसायिक बनाउन सहकारी क्षेत्र उपयुक्त र प्रभावकारी हुने धारणा राखे ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विपन्न वर्गका जनतालाई आर्थिक रुपमा सबल बनाउनका लागि गरिवी निवारण र विपन्न वर्ग लक्षित कार्यक्रमहरु सहकारी बैंकमार्फत जनतामा लैजानु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का केन्द्रीय सदस्य पि.एल. श्रेष्ठ, दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवर, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, समाजसेवी समुन्द्र गोदार, जिल्ला कृषि सहकारी संघका अध्यक्ष रामजी लौडारी, जिल्ला वचत तथा ऋण सहकारी संघका महासचिव प्रदिप अधिकारी, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष यज्ञप्रसाद पौडेल, तनहु उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ लगायतले राज्यले गरिवी निवारणका लागि परिचालन गर्ने बजेट सहकारी बैंकमार्फत लैजान सकेमा लक्षित वर्ग बढी लाभान्वित हुने र त्यसको प्रतिफल आउने धारणा राखेका थिए ।
२०६७ साउनमा स्थापना भएको सहकारी बैंकको दमौली शाखामा तनहुँ, गोर्खा, लम्जुङ र मनाङका गरी ३ सय सहकारी संघ संस्था सदस्य, १९ करोड निक्षेप र १८ करोड लगानी रहेको शाखा सहायक पार्वती श्रेष्ठले जानकारी दिइन् ।















प्रतिक्रिया