
धनगढी, २७ जेठ । प्रदेश नं ७ को सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०७५ /७६ को नीति तथा कार्यक्रममाथि प्रदेशसभा बैठकमा आज छलफल शुरु भएको छ ।
प्रदेशसभा भवन धनगढीमा आज बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सत्तापक्षका सदस्यले नीति तथा कार्यक्रम समग्रमा स्वागतयोग्य रहे पनि धेरै विषय छुट्न गएको भन्दै छुटेका विषयलाई समेटिनुपर्ने सुझाव दिए ।
प्रतिपक्षी सदस्यले नीति कार्यक्रमको पहिलो बुँदामै गणतन्त्रप्राप्तिका लागि बलिदान गर्ने शहीद, घाइते, अपांग, बेपत्ता भएकाप्रति शब्दमा सम्मान गरिए पनि उनीहरुको परिवारको हकहितका लागि केही नबोलिएको तथा नीति कार्यक्रम अस्पष्ट र गन्तव्यहीन देखिएकाले कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका थिए ।
उहाँहरुले जनताका पक्षमा परिणाम आउने गरी केही कार्यक्रम नबनाइएको तथा कैलाली र कञ्चनपुरमा बसोबास गर्दैआएका रानाथारुलाई सूचीकृत गर्ने आवाज लामो समयदेखि उठिरहेको भए पनि सो विषय उल्लेख नभएको गुनासो गरेका थिए ।
छलफलमा सत्तापक्षका लीलाधर भट्ट, बलदेव रेग्मी, पूर्णा जोशी, मानबहादुर धामी, मानबहादुर सुनार, हर्कबहादुर कुँवर, नन्दबहादुर साउद, शान्ति नेपाली, नेपालु चौधरी, लालबहादुर खड्का र प्रतिपक्षका श्यामलाल रानाथारु, मालामत्किुमारी रानाथारु, भरतबहादुर खड्का, डिल्लीराज पन्त, डा रणबहादुर रावल र कर्णबहादुर मल्लले भाग लिएका थिए ।
पत्रकारको सुरक्षाबारे बैठकमा माग
नीति तथा कार्यक्रमको छलफलका क्रममा प्रदेशसभा सदस्य डिल्लीराज पन्तले धनगढीका पत्रकार लोकेन्द्र विष्टमाथि शुक्रबार राति अपरिचित व्यक्तिले आक्रमण गरी घाइते बनाएको घटनामा सरकारको व्यवहार बेखबर जस्तो देखिएको आरोप लगाउँदै आक्रमणकारीको खोजी गरी कारबाही गर्न र पत्रकारको सुरक्षाको उचित व्यवस्था गर्न माग गर्नुभयो ।
प्रदेशसभाका अर्का सदस्य मालामतिकुमारी रानाथारुले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको शनिबारको दिन नीति कार्यक्रमको ‘कपि’ पत्रकारलाई उपलब्ध नगराइएको भन्दै समाजलाई सुसूचीत गराउने दायित्व बोकेका पत्रकारलाई किन यस्तो व्यवहार गरिएको भनेर प्रश्न गर्नुभयो ।
प्रदेशको नामाकरण र स्थायी राजधानीका विषयमा प्रस्ताव दर्ता
प्रदेश नं ७ को प्रदेशसभा सचिवालयमा आज प्रदेशको नामाकरण गर्न र स्थायी राजधानी तोक्नुपर्ने मागसहित नेपाली काँग्रेसका तर्फबाट प्रदेशसभाका सदस्य भरतबहादुर खड्काले प्रस्ताव दर्ता गराउनुभएको छ ।
उक्त प्रस्तावको समर्थकमा प्रदेशसभा सदस्यद्वय कर्णबहादुर मल्ल र डिल्लीराज पन्त रहनुभएको छ । प्रस्तावमा ऐतिहासिक, दीर्घकालीन महत्व, सन्तुलित विकास, भौगोलिक एवं सामरिक दृष्टिकोण तथा औचित्यका आधारमा स्थायी राजधानी तोक्न माग गरिएको छ । -रासस












प्रतिक्रिया