५ कार्तिक २०८३, बिहिबार

लाइसेन्सका असहज प्रावधान हटाउन नेपाल हेभी इक्यूपमेन्ट अपरेटर संघको माग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ जेठ । समृद्ध नेपाल निर्माणको अभियानमा ठूला मेसिनचालक (हेभी अपरेटर) हरुको महत्वपूर्ण भूमिकालाई राज्यले बुझ्न नसकेको नेपाल हेभी इक्यूपमेन्ट अपरेटर संघले जनाएको छ ।

संघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अपरेटरहरुलाई चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न रहेका असहज प्रावधान नै आफ्नो मुख्य समस्या रहेको जानकारी दिएको छ ।

२०७४–११–१४ मा राजपत्रमा प्रकाशित सवारी तथा यातायात व्यवस्थाको आठौं संशोधन नियमावली २०७४ अनुसार हेभी मेसिन चालक अनुमति प्राप्त गर्दा दुई वर्ष साना सवारी चलाउनु पर्ने बाध्यकारी व्यवस्था तथा प्रावधानको अन्त्य भएपनि कार्यान्वयनमा नआउँदा २० हजार अपरेटर मारमा परेको संघले जनाएको छ ।

यसैकारण देशका अधिकांश अपरेटर लाइसेन्स बिना नै जोखिम पूर्ण काम गर्न बाध्य रहेको भन्दै पत्रकार सम्मेलनमा संघका अध्यक्ष लोकमान खत्रीले संशोधित नियमावली तत्काल कार्यान्वयनमा ल्याउन सरकारसमक्ष माग गरे ।

उक्त नियमावली कार्यान्यवमा नआएका कारण हाल २० हजार अपरेटर मध्ये एक हजारसँग पनि अनुमतिपत्र नहुनु लज्जाको विषय भएको संघको ठहर छ । बिना अनुमतिपत्र काम गर्दा अपरेटरहरुले असुरक्षा, विमा समस्या लगायतका अन्य समस्या झेल्नु पर्ने अवस्था रहेको संघका अध्यक्ष खत्री बताउँछन् ।

अन्य झन्झटिलो व्यवस्था अन्त्य गरी संघको परिचयपत्र र अपरेटरले काम गरेको कम्पनिको सेक्टर परिचयको आधारमा अनिवार्य ट्रायल पासको व्यवस्था गरी अनुमितपत्र जारी गर्न संघले माग गरेको छ ।

पत्रकार सम्मेलनमा संघको मागप्रति नेपाल निर्माण व्यवसायी महासंघको तर्फबाट महासचिव राम शरण देउजा र नेपाल हेभी इक्यूपमेन्ट व्यवसायी महासंघको तर्फबाट अध्यक्ष ताराबहादुर कुँवरले ऐक्यवद्धता जनाए ।