५ कार्तिक २०८३, बिहिबार

तातोपानी नाका खुलाउन माग गर्दै नेकपा महासचिवलाई वाणिज्य संघको ज्ञापनपत्र

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ जेठ । राष्ट्रिय वाणिज्य संघले तातोपानी नाका छिटो सञ्चालनमा ल्याउन माग गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।

२०७२ सालको भूकम्पपछि बन्द रहेको नाका खुलाउने बहस धेरै भए पनि परिणाममुखी पहल गरिदिन माग गर्दै संघले ज्ञापनपत्र बुझाएको हो । शनिबार आयोजित संघको विस्तारित बैठकमा नेकपाका महासचिवलाई यसबारे पार्टी तथा सरकार दुबैले निर्णयक पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाइएको वाणिज्य संघका ईन्चार्ज कृष्ण क्षेत्रीले जानकारी दिए ।

‘तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापारी व्यवसायीसँगै मजदुर र स्थानीय समेत मारमा परेका छन्’ ज्ञापनपत्र बुझाएपछि ईन्चार्ज क्षेत्रीले भने, ‘देशका लागि समेत अर्बौ घाटा भइसकेकाले नाका छिटो खोल्न दबावस्वरुप देशकै ठूलो पार्टीका महासचिवलाई ज्ञापनपत्र बुझाएका हौं ।’

तातोपानी नाका सञ्चालनमा नआउँदा उक्त नाका हुँदै व्यापार व्यवसायसँगै मजदुर गर्दै आएका थुप्रै नागरिकको बेहाल हुन पुगेको स्थानीय व्यापारी प्रदिप पौडेलले बताए । ‘वर्षौँदेखि नाका खोल्ने प्रयत्न हुँदै आएको भन्ने सुनेका छौं । तर, ठोस पहल भएको छैन’ पौडेलले भने, ‘दुईतिहाई बहुमतसहितको वाम सरकार बनेको छ । नाका खुल्नेमा आशावादी छौं ।’

तातोपानी नाका देशकै प्रमुखमध्येको एक नाका भए पनि यसबाट सिन्धुपाल्चोकका नागरिक सबैभन्दा प्रभावित भएका छन् । तातोपानी नाका बन्दभएपछि धेरै व्यपारीहरु विस्थापित भएका छन् । उनीहरु अहिले वैकल्पिक नाकाहरुबाट व्यापार गरिरहेका छन् ।

भूकम्प र जुरेपहिरोका कारण तातोपानी नाका ठप्प भएको हो । संघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै नेकपा महासचिव पौडेलले तातोपानी नाका खुलाउन आफूले सक्दो प्रयत्न गर्ने आश्वासन दिएका छन् ।