
काठमाडौँ, २७ जेठ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सामुदायिक विद्यालयको स्तर नबढे सम्म मुलुकको समग्र शैक्षिक अवस्थामा सुधार आउन नसक्ने बताएका छन् ।
काठमाडौँको गोकर्णेश्वर–६ मा रहेको चामुण्डा माविको ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई शनिबार सम्बोधन गर्दै मन्त्री तामाङले सामुदायिक विद्यालयको स्तर उकास्न राज्यसँगै समुदाय नै बढी जिम्मेवार हुनुपर्ने बताए ।
वर्तमान सरकार सामुदायिक विद्यालयहरुको स्तर उकास्न प्रतिबद्ध रहेको भन्दै मन्त्री तामाङले सरकारको अभियानमा साथ दिन सबैलाई आग्रह गरे । चामुण्डा माविकै पूर्व विद्यार्थी सांसद सरिता न्यौपानले सामुदायिक विद्यालयहरु मुलुककै अमूल्य सम्पति भएको चर्चा गरिन् ।
गोकर्णेश्वर नगरपालिका नगरप्रमुख सन्तोष चालिसेले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि आफू क्रियाशील रहने प्रतिबद्धता जनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोपाल तामाङले शिक्षामा आमूल परिवर्तन ल्याउने गरी सरकारले नयाँ नीति तर्जुमा गर्नुपर्ने आवश्यकता औंल्याए ।
विद्यालयका प्रधानाध्यापक यादवप्रसाद पौडेलले सरोकारवाला सबैको सहयोगका कारण विद्यालयले लगातार उत्कृष्ट नतिजा हासिल गरेको तथ्यांक प्रस्तुत गर्दै आगामी दिनमा पनि शैक्षिक गुणस्तर कायम गर्न प्रयत्नशील रहने बताए ।
कार्यक्रममा विद्यालयकी पूर्व विद्यार्थी तथा वर्तमान सांसद सरिता न्यौपाने तथा विद्यालयका पूर्व शिक्षक समेत रहेका नेपाली साहित्यका चर्चित स्रष्टा गोविन्दप्रसाद घिमिरे वेदमणिलाई मन्त्री तामाङले सम्मान गरे ।
विक्रम सम्बत् २०२४ सालमा स्थापना भएको चामुण्डा मावि भौतिक पूर्वाधर तथा लगातारको उत्कृष्ट नतिजाका कारण मुलुककै उत्कृष्ट सामुदायीक विद्यालयहरुमा पर्दछ । हाल कक्षा १ देखि १२ सम्म गरी करीब २ हजार जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन् ।












प्रतिक्रिया