
काठमाडौं, २४ जेठ । सेलोलाई तामाङ समुदायको सांस्कृतिक पहिचान मानिन्छ । यसभित्र गायन र नृत्य मात्रै नभई लोकनाटक र संस्कृतिका अनेक रंगमञ्चिय आयाम लुकेको छ । तिनै आयाम उजागर गर्ने ध्येयसाथ काठमाडौँमा ‘तामाङ सेलो नाट्य महोत्सव’ हुुँदैछ ।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउन्डेशनले आउँदो असार २ गतेदेखि तीनदिने महोत्सव गर्न लागेका हुन् । महोत्सवको लागि ५ वटा नाटक छानिएको प्रतिष्ठानका रंगमञ्च विभाग प्रमुख एवं प्राज्ञ पुस्कर गुरुङले जनाए ।
बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा हुने महोत्सव पुस्तक तथा भेषभुषा प्रदर्शनी एवं तामाङ मौलिक खाना महोत्सव सहित हुने बताइएको छ ।
छनौटमा परेका नाटकहरुमा भाषाविद अमृत योञ्जन तामाङको लेखन र निशा पाख्रिनको निर्देशन रहेको नाटक ‘स्यालगार’, फूलमान वलको लेखन र सोनाम तामाङको निर्देशन रहेको ‘सोनाम ग्याल्मो’, बसन्त चौधरीको लेखन र शान्ति वाइवाको निर्देशन रहेको कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’, ल्हाप्साङ कर्पो म्युजिकको तर्फबाट रोशन फ्युबाले संयोजन गरेको लोकनाटक ‘लालिमो’, सत्यदेवी काठमाडौं सम्पर्क समाजको तर्फबाट मारनेन वाइबाले संयोजन गरेको लोकनाटक ‘ताचेमा’ (घोडाचडी) छन् ।
नाटक ‘सोनाम ग्याल्मो’मार्फत पहिलोपटक तामाङ नायिका चा“दनी मोक्तान, गायकहरु फूलकुमार बमजन र सुसन लामा रंगमञ्चमा देखिदैछन् । ‘फिल्म खेलेर नमेटिएको अभिनयको भोक नाटकमार्फत पुरा गर्ने प्रयासमा छु’, दर्जन भन्दा बढि तामाङ फिल्म खेलेकी चा“दनीले भनिन् ।
महोत्सवमा तामाङ र नेपाली दुबै भाषामा नाटक मञ्चन गरिने सेलो फाउन्डेशनका अध्यक्ष जगत तामाङले जनाए ।















प्रतिक्रिया