
-बेलिना थापा
लमजुङ, २४ जेठ । पानीको ट्याङ्कीका लागि खाल्डो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । २ जना जना घाइते भएका छन् ।
मध्यनेपाल नगरपालिका– ७ इशानेश्वर महादेब मन्दिर क्षेत्र विकास समितिले निर्माण गर्न लागेको १ सय ८ धाराका लागि खाल्डो खन्दै गर्दा ढिस्कोले पुरिएर मध्यनेपाल नगरपालिका ७ राम्चेका १८ बर्षीय श्यामबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहिबार दिउँसो १ बजे माटोको ढिस्कोले पुरिएका श्यामबहादुरको उद्धार पछि चिसंकु स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय भोर्लेटारका इन्स्पेक्टर जयराम वन्तले बताए ।
उनका अनुसार मध्यनेपाल नगरपालिका ७ चिसंकुका ५६ बर्षीय किनबहादुर नेपाली अछामी र ५५ बर्षीय माधब अधिकारी घाइते भएका छन् । माधबको इशानेशवर हस्पिटलमा र किनबहादुरको चिसंकु स्वास्थ्यचौकीमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार एक हप्ता अघिदेखि ट्याङकी निर्माणका लागि वाल उठाउने काम सुरु गरिएको हो ।
मध्यनेपाल नगरपालिका ६ भोर्लेटारका स्थानीय इन्द्र रेग्मीका अनुसार ढिस्कोले पुरिएका श्यामबहादुरको टाउको खाल्डो तल परेकाले उद्धारमा समय लागेको हो ।












प्रतिक्रिया