
-बेलिना थापा
लमजुङ, २३ जेठ । बेँसीसहर बजारका धेरै पसलहरु दर्ता विना नै सञ्चालन भएको पाइएको छ । बेँसीसहरको मनाङे चौतारादेखि शेरा बजारसम्म गरिएको बजार अनुगमनका क्रममा धेरै मात्रामा साना पसल तथा होटल ब्यवसाय दर्ता बिना नै संचालन गरेको भेटिएको हो ।
अनुगमन टोलीले बृहत रुपमा किराना पसल, मासु पसल, औषधी पसल, व्युटीपार्लर, बेकरी उद्योग, होटल, स्टेश्नरी पसलमा अनुगमन गरेको हो । बजारका पसलमा म्याद गुज्रेका दैनिक उपभोग्य खाद्यवस्तु फेला परेको छ ।
बजारका धेरै पसल दर्ता बिना नै संचालन गरिएको भेटिएको जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईले बताए । वरिष्ठ पशु चिकित्कस लक्ष्मणबहादुर ढकालले बजारका केही मासु पसल फोहोर भेटिएको बताए । कुखुरा पालन पनि मानिसको स्वास्थ्यमा असर पर्ने गरी गरिएको भेटिएको उनले बताए ।
केही फार्मेसीले लागूऔषधजन्य औषधी विक्रीवितरण गरेको पाइएको टोलीले बताएको छ । बजारमा सञ्चालित केही पाउरोटी उद्योग फोहर देखिएको र सुधार्न सुझाव दिइएको उनीहरुले बताएका छन् । अनुमनमा खटिएका अधिकारीका अनुसार सवै सामान एकैठाउँमा राखेर विक्रीवितरण गरेको पाइएको छ ।
अनुगमनका क्रममा उद्योग वाणिज्य संघ, प्रहरी, प्रशासन र पत्रकार प्रतिनिधिलाई सँगै लिएर हिड्ने गरेका छन् । बेंसीसहर नगरपालिकाका अधिकृत राजेश्वर सिलवालका अनुसार नगरपालिकाले बजार अनुगमनसम्बन्धि कानुन बनाएर अघि बढेको छ ।
म्याद गुज्रिएका सामान जफत गरिएको छ । ती कम्पनीलाई म्याद गुज्रेका सामान विक्रीवितरण नगर्ने चेतावनीसहितको पत्र दिइने नगरपालिकाले जनाएको छ ।












प्रतिक्रिया