२ कार्तिक २०८३, सोमबार

महिलाहरुले उत्पादन गरेका कृषि उपजको बजारीकरणका लागि कृषि प्रदर्शनी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–नृपराज हमाल
हुम्ला, १८ जेठ । हुम्लाका महिलाहरुले उत्पादन गरेका स्थानीय कृषि उपजहरुको बजारीकरणका लागि स्थानीय कृषि उत्पादन प्रदर्शनी गरिएको छ । स्थानीय उत्पादनबाट महिला आयआर्जनका लागि स्थानीय स्तरमा गठन गरिएका विभिन्न महिला समुहहरुले सदरमुकाम सिमकोटमा आफ्ना उत्पादनहरुको प्रदर्शनी गरेका हुन् ।

सुनौलो भविश्यका लागि लैङ्गिक न्याय परियोजना अन्तर्गत सिमकोट, नाम्खा, खार्पुनाथ र सर्केगाड गाउँपालिकामा गठित महिला समुहहरुले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि जिल्ला सदरमुकाम सिमकोटमा कृषि उत्पादन प्रदर्शनी गरेको कार्यक्रम व्यवस्थापक प्रेम बहादुर बुढाले जानकारी दिएका छन् । महिलाले आय आर्जनका क्षेत्रमा केही गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न पनि यस्तो प्रदर्शनी आयोजना गरिएको व्यवस्थापक बुढाले बताए ।

प्रदर्शनीमा स्थानीय स्तरमा उत्पादित कृषि उपजहरु खामुको तेल, मह, दही, कालो तील, रातो चामल, भटमास, गहत, मास, लसुन, सिमी, जौको सातु, असुरो, चिनोको चामल, ओखर, स्याउका चाना, रातो मार्से, चुलीको सिमणा, कोदोको पिठो, फापरको पिठो, सिस्नुको धुलो, छुर्पी, धुपी, सिमजिरा, जम्फु आदी राखिएका छन् ।

प्रदर्शनीको अवलोकन गर्न आएकाहरुले मुल्य सुची सहित स्टलमा राखिएका स्थानीय कृषि उपजहरुको खरिद गरेका छन् । कृषि उत्पादन प्रदर्शनी शुक्रबार एक दिनका लागि सिमकोटमा संचालन गरिएको आयोजकले जनाएका छन् ।

महिला कल्याण सेवा समाज, हुम्लाकी कार्यकारी निर्देशक लक्ष्मी लामाले महिलाको क्षमतालाई अगाडि बढाउन एक दिने कृषि उत्पादन प्रदर्शनी आयोजना गरिएको बताइन् । ग्रामीण भेगका महिलाले उत्पादन गरेका वस्तु केन्द्रसम्म पुर्‍याउन उक्त प्रदर्शन गरिएको उनको भनाई छ ।

महिला कल्याण सेवा समाज हुम्लाको आयोजना, मिसनईष्टको प्राविधिक सहयोगमा र खार्पुनाथ र सिमकोट गाउँपालिकासंगको समन्वयमा महिला समुहले स्थानीय कृषि उप्तादन प्रदर्शनी गरेका छन् ।