राजविराज, १८ जेठ । सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परी शुक्रबार दुई जनाको मृत्यु भएको छ । जिल्लाको बेल्हीचपेना गाउँपालिका–१ मा ट्र्याक्टरले च्यापिँदा एक जनाको मृत्यु भएको छ ।
स्थानीयवासी २६ वर्षीया सन्तोषीदेवी यादवलाई स.१त २८५१ नंको ट्र्याक्टरको ट्रली पल्टेर च्याप्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । आफ्नै घरअगाडि बाटोमा बसिरहेको अवस्थामा ट्र्याक्टर एक्कासि पल्टिँदा उनी च्यापिएकी थिइन ।
घाइते यादवको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक भने फरार रहेकाले उनको खोजी भइरहेको छ ।
त्यस्तै, पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ मा को.२च १५१२ नंको जीप अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ । सिन्धुली कालापानी निपाने बस्ने ४६ बर्षीया मंगली अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । –रासस












प्रतिक्रिया