५ कार्तिक २०८३, बिहिबार

नेपालगन्जमा सानिमा लाईफ ईन्स्योरेन्सको सेवा सुरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-आकाश देबकोटा

बाँके, १८ जेठ । सानिमा लाईफ ईन्स्योरेन्सले नेपालगन्जमा विधिवतरुपमा सेवारम्भ गरेको छ । शुक्रबार नेपालगन्जको सुर्खेतरोडस्थित (पाहुनाघर अगाडि) कार्यालयको उद्घाटन गरी सानिमा लाईफ ईन्स्योरेन्सले सेवा सुरु गरेको हो ।

सानिमा लाईफ ईन्स्योरेन्सका मुख्य प्रबन्धक गणेश चौलागाईको उपस्थितिमा प्रदेशसभा सदस्य सुरेन्द्र हमाल, मोहम्मद याकुब अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले संयुक्तरुपमा कार्यालयको उद्घाटन गरे ।

कार्यालयको उद्घाटन गर्दै प्रदेशसभा सदस्य हमालले लाईफ ईन्स्योरेन्सको महत्व आफूले परेपछि मात्र महशुस गरेको भन्दै आर्थिक सुरक्षाका लागि सबैले ईन्स्योरेन्स गर्नु जरुरी रहेको बताए । ‘६ बर्षअघि मलाई ठूलो रोग (क्यान्सर) लागेको थाहा भयो । मैले त्यसबेला ईन्स्योरेन्स गरेको थिएन । जसका कारण मैले व्यक्तिगत, आफन्तजन र साथीभाईबाट सहयोग जुटाउन ठूलै कसरत गर्नुप¥यो’ प्रदेश सभा सदस्य हमालले भने, ‘ईन्स्योरेन्स गरेको भए मेरो उपचारमा धेरै ठूलो आर्थिक भार पर्दैन थियो होला ।’

त्यस्तै प्रदेशसभा सदस्य अन्सारीले स्वदेशकै ईन्स्योरेन्स कम्पनीहरुमा बीमा गराउने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले अझै पनि तराई क्षेत्रमा भारतीय ईन्स्योरेन्स कम्पनीहरुको दबदबा कायमै रहेको भन्दै स्वदेशी ईन्स्योरेन्स कम्पनीको प्रबर्द्धन गर्न सेवाग्राहीले पर्याप्त सुविधा पाउने किसिमको स्किम ल्याउनु जरुरी रहेको धारणा राखे ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य श्रेष्ठले अझै पनि धेरै मानिस ईन्स्योरेन्सबारे जानकार हुन नसकेको भन्दै जनतामा जागरुकता ल्याउँदै सबैलाई ईन्स्योरेन्सको दायरामा समेटिनुपर्ने बताए ।

सानिमा लाईफ ईन्स्योरेन्सका मुख्य प्रबन्धक चौलागाइँले भारतीय ईन्स्योरेन्स कम्पनीहरुलाई यहाँबाट विस्थापित गर्न विशेष योजनाका साथ आफूहरु अघि बढेको बताए । उनले राम्रो प्रोडक्ट र सेवा दिँदै स्वदेशी ईन्स्योरेन्स कम्पनीहरुलाई स्थापित गरी विदेशी कम्पनीहरुमा जाने करोडौं रुपैयाँ जोगाउनुपर्ने चुनौती रहेको पनि बताए ।

त्यस्तै सानिमा लाईफ ईन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक जयदेव गौतमले प्रदेश नम्बर ५ मा पहिलो शाखा नेपालगन्जमा खोलिएको जानकारी दिँदै यस क्षेत्रका जनताको आर्थिक सुरक्षार्थ आफूहरुले सेवा विस्तार गरेको बताए । सानिमा बैंक, सानिमा हाईड्रो लगायतमा स्थापित सानिमा ग्रुपले तीन महिनाअघि काठमाडौंबाट ईन्स्योरेन्स क्षेत्रमा पनि काम सुरु गरेको हो । नेपालगन्ज शाखा सानिमा लाईफ ईन्स्योरेन्सको १६ औं शाखा रहेको जानकारी दिए ।

हाल १ सय ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा लाईफ ईन्स्योरेन्सले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको शेयर आह्वान गर्दैछ ।