लण्डन, १८ जेठ । पेरुका कप्तान तथा कीर्तिमानी गोलकर्ता पाउलो गुरेरोले जुन १४ देखि रुसमा शुरु हुने विश्वकप फुटबलमा खेल्न पाउने भएका छन् ।
लागुऔषध प्रयोग गरेको प्रमाणित भएपछि विश्व फुटबलको प्रशासकीय निकाय फिफाले उनीमाथि १४ महिनाको प्रतिबन्ध लगाएको छ ।
स्वीट्जरल्याण्डमा रहेको खेल सम्बन्धी अदालत, क्यासले उनको प्रतिबन्ध तत्कालका लागि फुकुवा गरेको हो । अब उनी रुस विश्वकपमा खेल्न पाउने छन् । गुरेरोले प्रतिबन्ध तत्कालका लाग फुकुवा गरिदिन अदालतमा अपील गरेका थिए ।
यसअघि पेरुसँग उही समूह सी मा रहेका अस्ट्रेलिया, डेनमार्क र फ्रान्सका कप्तानले विश्व फुटबलको प्रशासकीय निकाय फिफासँग गुरेरोमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गरेका थिए ।
तीन देशका कप्तानले फिफाका लेखेको पत्रमा गुरेरोमाथि लागेको प्रतिबन्ध तत्कालका लागि फुकुवा गरेर उनलाई ३६ वर्षपछि देशले विश्वकपमा खेल्न पाएको अवसरको हिस्सा बन्ने मौका दिन आग्रह गरिएको छ । पेरुले ३६ वर्षपछि विश्वकपमा स्थान बनाएको हो ।
यसअघि पछिल्लो पटक पेरुले सन् १९८२ मा विश्वकप खेलेको थियो । पत्रका अस्ट्रेलियाका कप्तान मिले जेडिनाक, डेनमार्कका कप्तान सिमोन कजाएर र फ्रान्सका कप्तान ह्युगो लोरिसले हस्ताक्षर गरेका थिए । एजेन्सी















प्रतिक्रिया