
काठमाडौं, १७ जेठ । उर्जा उद्यमी ईन्जिनियर ज्ञानेन्द्रलाल प्रधानले अहिलेकै मोडेलमा नेपालले बुढीगण्डकी परियोजना बनाउन नसक्ने ठोकुवा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानले यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘बुढीगण्डकी परियोजनाको अहिलेको डिजाईन वा मोडेल काम लाग्दैन, यो प्रोजेक्ट बनाउनको लागि हामीले रि–डिजाईन गर्नुपर्छ, अहिलेको कन्क्रिट आर्ट ड्याम्पको डिजाईन ब्रष्ट भयो भने यसले ठूलो भौतिक तथा मानवीय क्षति हुन्छ, नेपालका चितवन, नवलपरासीमात्रै होईन, भारत र बंगलादेशमा समेत यसले क्षति पु¥याउँछ छ ।’
उनले बुढीगण्डकीको अहिलेको ड्याम्पको उचाई धेरै अग्लो भएकोले यसको हाईट घटाउनको लागि डिजाईन परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले थपे, ‘अहिलेको डिजाईनको ड्याम्प ब्रस्ट भयो भने कम्तिमा ९ देखि १० करोड मानिसको मृत्यु हुन्छ ।’ प्रधानले बुढीगण्डकी परियोजना ‘अर्थ फिल विथ कन्क्रिट कोर’ डिजाईनमा बनाउँदा उत्तम हुने सुझाए ।
अहिलेकै डिजाईनमा यो परियोजना अघि बढाउन भारतले पनि नमान्ने उनको जिकिर छ । उक्त परियोजना १२ सय मेगावाटबाट घटाएर ७८० मेगावाटको मात्रै बनाउनुपर्ने पनि उनको भनाई छ । उनले भने, ‘बुढीगण्डकी परियोजना रोक्नुहुँदैन, यसलाई अगाडि बढाउनुपर्छ, तर रि–डिजाईन गर्नुपर्छ, रि–डिजाईन नगरे यो प्रोजेक्ट हाइड्रो बम बन्नसक्छ, डिजाईन परिवर्तन गरियो भने १.७ बिलियनमै बन्न सक्छ ।’
प्रधानले ‘संघीयतामा जलविद्युतको अपरिहार्यता’ शीर्षकमा नयाँ अवधारणा समेत सार्वजनिक गरेका छन् । उनले ७ प्रदेशमध्ये २ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा प्रचुर मात्रामा जलश्रोतको विकासको सम्भावना रहेको औंल्याएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै चीन भ्रमणमा जाने भएकोले जलविद्युतको विकासको लागि एक प्रदेश एक परियोजना लिएर जानुपर्ने प्रधानमन्त्रीको सुझाव छ । उनले भने, ‘नेपालले आफ्नो पुँजीलेमात्रै जलविद्युतको विकास गर्न सक्दैन्, चीन पैसा दिन तयार छ, हामीले प्रस्ताव लिएर जानुपर्यो, प्रधानमन्त्री चीन जाने दिन आईसक्यो, तर हामीसँग तयारी केही पनि छैन ।’















प्रतिक्रिया