३ कार्तिक २०८३, मंगलबार

फेरि पनि विश्वकप जित्ने दाउमा जर्मनी, यसरी बनायो रणनीति

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । चार वर्षअघि ब्राजिलमा भएको विश्वकप फुटबलमा घरेलु टोलीलाई नै सेमिफाइनलमा ७–१ को जित निकालेर जर्मनीले विश्वभरका सनसनी मच्चाएको थियो । त्यसपछि फाइनलमा स्टार स्ट्राइकर लियोनल मेस्सीको टिम अर्जेन्टिनालाई १–० ले हराएर जर्मनी विश्व विजेता बन्यो ।

जर्मनीलाई जनु १४ देखि रुसमा सुरु हुने विश्वकप फुटबल २०१८ को पनि उपाधि दाबेदारका रुपमा हेरिएको छ । स्टार खेलाडीले भरिएको जर्मनीले यो पटक पनि उपाधि लैजान्छ भन्ने धेरै छन् । विश्व विजेता बनेको चार वर्षपछि पनि जर्मनीको लय उस्तै छ ।

फिफा वरीयतामा शीर्ष स्थानमा रहेको जर्मनी ब्राजिलको कीर्तिमानमा बराबरी गर्ने लक्ष्यमा छ यसपटक । ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार विश्व विजेता बनेर कीर्तिमान बनाएको थियो ।

अहिले जर्मनी त्यो कीर्तिमानमा बराबरी गर्ने दाउमा छ । उसले यसपटक विश्वकप जितेमा उ त्यस्तो गर्ने ब्राजिल पछिको टिम बन्नेछ ।

रुस विश्वकपका लागि जर्मनीको प्रारम्भिक टिम घोषणा भइसकेको छ । २७ सदस्यीय टोलीमा केही फेरबदल हुन सक्छ ।

टोलीमा सन् २०१४ को विश्वकप फाइनलमा विजयी गोल गरेर उपाधि दिलाएका मारिओ गोटेज परेका छैनन् । उनले चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा फाइनलमा अतिरिक्त समयमा अर्जेन्टिना विरुद्ध गोल गर्दै जर्मनीलाई चौथो पटक विश्वकपको उपाधि दिलाएका थिए ।

गएको सेप्टेम्बरदेखि चोटका कारण मैदान बाहिर रहेका बार्यन म्युनिखका गोलरक्षक म्यानुएल नुयर भने टोलीमा परेका छन् ।

गोलरक्षकमा बेर्न्ड लिनो, म्यानुएल नुयर, मार्क आन्द्रे टेर स्टेगेन, केविन ट्राप्प रहेका छन् । डिफेन्डरमा जेरोमी बोएट्ङ, माथिएस गिन्टर, जोनास हेक्टर, म्याट्स ह्युमेल्स, जोशुए किमिच, मार्विन प्लाटेनहार्ड्ट, एन्टोनिओ रुडिगर, निक्लास सुली, जोनथन टाह रहेका छन् ।

मिडफिल्डरमा जुलियन ब्रान्डट्, जुलियन ड्रेक्सलर, लिओन गोरेट्स्का, इलकाइ गुण्डोगान, सामी खेडिरा, टोनी क्रस, मेसुट ओजिल, सेबास्टियन रुडी, लिरोय साने रहेका छन् । साथै स्ट्राइकरमा मारिओ गोमेज, थोमस मुलर, निल्स पिटरसन, मार्को रुइस, टिमो वार्नर रहेको समाचारमा उल्लेख छ ।

रुस विश्वकपका लागि साबिक विजेता जर्मनी समूह एफ मा छ । उसले समूह चरणमा मेक्सिको, स्वीडेन र दक्षिण कोरियासँग खेल्नु पर्नेछ ।

यो समूहका मेक्सिको र स्वीडेन पनि बलिया टोली हुन् । जर्मनीले आफ्नो पहिलो खेलमा जुन १७ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।

अहिलेसम्म १८ पटक विश्वकप खेलेको जर्मनी ब्राजिलपछिको सबैभन्दा सफल टिम हो । सन् १९३४ देखि विश्वकप खेल्न थालेको जर्मनी अहिलेसम्म चार पटक विश्व विजेता बनेको छ ।

उसले पहिलो पटक सन् १९५४ मा उपाधि उचालेको थियो भने पछिल्लो पटक सन् २०१४ मा उ विजेता बन्यो । त्यसअघि सन् १९७४ र १९९० मा पनि उसले विश्व विजेताको स्वाद लिएको थियो ।

चार वर्षअघि विश्व विजेता बन्नका लागि जर्मनीले २४ वर्ष पर्खेको थियो । अहिलेसम्म १३ पटक सेमिफाइनलमा पुगेको जर्मनीले ८ पटक फाइनल खेलेको छ र चार पटक उपाधि जितेको छ । एजेन्सी