
काठमाडौं, १६ जेठ । दिगो विकास लक्ष्य हासिल गर्नका लागि नीजि क्षेत्र, नागरिक समाज र सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
एलडीसीवाच, सापे र रेस्फेकले बुधबार आयोजना गरेको दिगो विकास लक्ष्यमा नीजि क्षेत्रको भूमिका र जिम्मेवारी विषयक कार्यक्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले एसडीजीलाई केन्द्रीकृत गरेर बजेट ल्याइएको र नेपालले दिगो विकास लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको जानकारी दिए ।
नीजि क्षेत्रले नाफा कमाउने उद्देश्य पूर्ति गर्न खोज्दा सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दुमा राख्नपर्ने र सवैले कर्पोरेट सामाजिक उत्तरदायित्वको वहन इमान्दारिताका साथ गर्नपर्नेमा उपाध्यक्ष कँडेलको जोड थियो ।
राज्य र जनतालाई छलेर जसरी भएपनि कमाउने प्रवृत्ति हावी भयो भने असमानता कायम हुन गइ भविष्यमा पुनः द्वन्द्ध निस्कने उनको ठम्याइ थियो ।
कुल गार्हस्थ उत्पादनको ३३ देखि ४० प्रतिशतमात्र राज्यले धानिरहेको र बाँकी नीजि क्षेत्रले धानिरहेको जानकारी दिंदै उपाध्यक्ष कँडेलले राज्य संक्रमणकालबाट माथि आइसकेकाले आर्थिक समृद्धितर्फ अगाडि बढ्न मार्ग प्रशस्त भएको बताए ।
एलडीसी वाचाका ग्लोबल कोर्डिनेटर गौरी प्रधानले नीजि क्षेत्रले शिक्षा, स्वास्थ्य, अर्थ, विकास, वातावरण, यातायातलगायतमा महत्वपूर्ण योगदान गरेकाले दिगो विकास लक्ष्यमा पनि ठूलो देन रहने जानकारी दिए ।
नेपाल सरकारले बजेटमार्फत समृद्ध नेपाल र सुखी नेपालीको नारा समेटिएकोमा खुशी व्यक्त गर्दै २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न अथक प्रयास नीजि क्षेत्रले पनि गर्नुपर्नेमा जोड दिए ।
दिगो विकास लक्ष्य हासिल गर्नका लागि वर्षेनी ७ देखि ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने देखिएको र यसका लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।















प्रतिक्रिया