
काठमाडौँ, १६ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई एकेडेमी हल अफ फेम सम्मान प्रदान गरिएको छ । नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीमा अधिकृत क्याडेट आधार तालिम पुरा गरी नेपाली सेनाको सर्वोच्च पदमा नियुक्त भएका सेनापति क्षत्रीलाई प्रतिष्ठानमा आयोजित अधिष्ठापन समारोहमा प्रतिष्ठानका शिक्षाधिकृत सहायक श्री सीताराम खड्काले उक्त सम्मानबाट अभिनन्दन गरेका हुन् ।
विभिन्न देशहरुले आ–आफ्नो तालिम केन्द्र, प्रतिष्ठान तथा कलेजहरुबाट तालिम प्राप्त गरेका स्वदेशी तथा विदेशी शिक्षार्थीहरु मध्ये उच्च पद हासिल गर्न सफल भएका व्यक्तिहरुको तस्वीरलाई हलमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरुप नेपाली सैनिक प्रतिष्ठानमा पहिलो पटक एकेडेमी हल अफ फेम समारोह आयोजना गरिएको हो ।
यस अघि प्रधानसेनापति क्षत्रीलाई अमेरिकी सेनाको यूएस आर्मी कमाण्ड एण्ड जनरल स्टाफ कलेज र यूएस आर्मी वार कलेजले आफ्नो कलेजबाट प्रशिक्षित शिक्षार्थी नेपाली सेनाको प्रधानसेनापति जस्तो गरिमामय पदमा आसिन भएकोमा सम्मान गरिसकेको छ ।
नेपाली सैनिक प्रतिष्ठानबाट अधिकृत क्याडेट आधार तालिम पुरा गरेका शिक्षार्थीहरु मध्ये नेपाली सेनाको इतिहासमा पहिलो पटक प्रधानसेनापति हुन सफल भएका प्रधानसेनापति क्षत्रीको तस्वीर उक्त प्रतिष्ठानको पृथ्वीनारायण भवनको गोरखकाली कक्षमा राखिने छ । निकट भविष्यमा एकेडेमी हल अफ फेम बाट सम्मानित हुने व्यक्तिहरुको लागि छुट्टै भवनको व्यवस्था गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
समारोहमा पूर्व प्रधानसेनापतिहरु, बलाधिकृत रथी, बलाध्यक्ष रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, नेपाल अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, नेपाली सेनाका रथी, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, पूर्व शिक्षाधिकृतहरु, नेपाली सैनिक प्रतिष्ठानका डिन, सैनिक सहचारीहरु लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।












प्रतिक्रिया