
काठमाडौँ, १३ जेठ । नेपाल निर्माण व्यवसायी महासंघको विशेष साधारण सभा तथा भेला १३ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौँमा सकिएको छ । साधारण सभा तथा भेलाले गरेका निर्णयहरु सार्वजनिक गर्न आइतबार महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ नेतृत्व चयन गर्नका लागि महासंघको २० औं साधारण सभा आगामी असोज ५ र ६ गते काठमाडौंमा गर्ने निर्णय गरिएको जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठले गुणस्तरीय निर्माण कार्यका लागि महासंघले सरकारलाई दबाब दिइरहने बताए । हालै गृह प्रशासनले आफ्नो क्षेत्राधिकार नरहेको विषयमा प्रवेश गरी व्यवसायीहरु माथि धरपकड गरिरहेको अवस्थालगायत निर्माण व्यवसायका समसामयिक समस्याका बारेमा आम व्यवसायीको साझा धारणा तय गर्न विशेष साधारण सभालाई विशेष भेलामा परिणत गरिएको श्रेष्ठले बताए ।
प्रशासनको अनावश्यक धरपकड जारी रहेमा आफूहरु अदालत जाने श्रेष्ठले प्रष्ट पारे । महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीको करीब ४२ अर्ब रुपैया भुक्तानी हुन बाँकी रहेको जानकारी दिए । साना निर्माण व्यवसायी बलियो भए मात्र मुलुुकको निर्माण जगत समृद्ध हुने लामिछानेले बताए । महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार यक्षध्वज कार्कीले निर्माण प्रक्रियामा सरकारी प्रक्रिया नै गलत रहेकाले व्यवसायीहरु अनावश्यक झन्झट व्योहर्न बाध्य भएको बताए ।
पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष लक्ष्मणकुमार राना, उपाध्यक्ष तेजकुमार कुरुम्बाङ, प्रवक्ता विष्णु बुढाथोकीलगायतले व्यवसायीका समस्याबारे चर्चा गरे । भेलाले निर्माण कार्यमा कुनै समस्या वा विवाद भए द्धिपक्षीय ठेक्का सम्झौता र सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ ले तोके बमोजिम विवाद समाधान वा कार्वाहीको विषय बनाउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता विपरित व्यवसायीलाई धरपकड गर्ने, थुन्ने, प्रहरी कार्वाही गर्ने कार्य तत्काल रोक्न सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको छ ।
सार्वजनिक खरिद नियमावली बनाई लागू गर्ने कानुनी प्रावधान अनुसार विकास निर्माणको कार्य सहज ढङ्गले हुनसक्ने गरी विकासमुखी, जनमैत्री तथा निर्माण व्यवसायीमैत्री निर्माण व्यवसाय नियमावली लागू गर्न सबै स्थानीय सरकारसँग माग गर्ने निर्णय भेलाले गरेको छ । संघीय सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम साना निर्माण व्यवसायीहरुको हकहितका लागि रु. दुई करोड सम्मको निर्माण कार्यमा खुल्ला गरिएता पनि कार्यान्वयन हुन नसकेको हुँदा सो को पूर्ण कार्यान्वयनको माग गर्ने समेत निर्णय भएको छ।
देशको पूँजिगत खर्चको झण्डै ६० प्रतिशत खर्च गर्ने निर्माण व्यवसायीहरुलाई ठेक्का सम्झौता विपरितका कार्यहरु नगर्न नगराउन समेत भेलाले माग गरेको प्रवक्ता विष्णु बुढाथोकीले जानकारी दिए । अहिले पनि चन्दा आतंकसहित निर्माण व्यवसायीहरुका यन्त्र उपकरणहरुमा आगजनी भइरहेकाले यस्ता घटना तत्काल रोक्न भेलाले माग गरेको छ ।












प्रतिक्रिया