
-रबिना बोहरा
बागलुङ, १३ जेठ । बागलुङ नगरपालिकाले सडक पेटीमा राखिएका बिक्रीका सामान नियन्त्रणमा लिएको छ । बजार क्षेत्रका सडक पेटी खाली गराई पैदल यात्रुलाई हिड्नका लागि फुटपाथ निर्माण गर्ने र सडकमा सवारी साधनलाई आवातजावतमा सहज गराउने उद्देश्यले पेटीमा राखिएका सामान नियन्त्रणमा लिएको हो । बागलुङ सदरमुकाम भित्रका सडक पेटीमा व्यवसाय सञ्चालन गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै आएको छ ।
सफा, स्वच्छ तथा नमुना नगर निर्माणका लागि यो अभियान थालिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । बिक्रीका सामान सडक पेटीमा राखेर बिक्री वितरण नगर्नका लागि पटक–पटक गरिएको आग्रहलाई व्यवसायीले अटेर गरेपछि आइतबार बजार क्षेत्रका केही भागमा सामान उठाइएको थियो ।
मरेपिपल देखी धौलागिरी चोक, लोकतान्त्रिक चोक हुदैँ हल्ललन चोकसम्मका व्यवसायीहरुले बाहिर राखेका सामानलाई जिल्ला प्रहरी कार्यालय बागलुङ र बागलुङ नगरपालिकाको गाडीमा राखिएको थियो । यात्रु हिड्ने सडक पेटीमा व्यवसायीहरुले मनपरी ढंगले आ–आफ्ना सामान सडक पेटीमा राख्दा यात्रुसँगै सवारीसाधन सञ्चालन गर्न समस्या हुने गरेको छ । यसले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपेको छ ।
बजार क्षेत्रमा रहेका कपडा पसल, तरकारी पसल, भाडा पसलका सामानहरुलाई नियन्त्रणमा लिइएको थियो । नगरपालिकाको आग्रह बेवास्ता गर्दै सडक पेटीबाट सामान नहटाउने व्यवसायीको सामान प्रहरीको सहयोगमा पहिलोपल्ट उठाइएको हो । तर, सोही समयमा नगरपालिकाले व्यवसायीविरुद्ध ज्यादती गरेको भन्दै बजारका केही व्यवसायीहरुले गाडीमा राखिएका सामान सडकभर फालेका थिए ।
बर्षेनी व्यवसाय सञ्चालन गरे बापतको कर बुझाउने गरेपनि नगरपालिकाले व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै व्यवसायीहरुको आक्रोशित बनेका थिए । निर्वाध रुपमा मान्छे हिड्न पाउनु पर्नेमा सडक पेटीमै व्यापार व्यवसाय गर्नेहरुका कारण नगरको सुन्दरता नै कुरुप बन्दै जान थालेको छ ।
यता सडक पेटीको सामान उठाउने क्रम जारी रहने भन्दै आगामी दिनमा आग्रह र सूचनालाई वेवास्ता गर्ने व्यवसायीको सामान उठाउन बाध्य हुने मेयर पौडेलले बताए । सडक पेटीको हकमा पैदल यात्रीलाई बाधा पर्ने कुनै पनि व्यापार व्यवसाय गर्न नदिने, पसल बाहिर समेत सामान राखेर विक्री गर्ने कार्यमा रोक लगाउने गरी सडक पेटीको अतिक्रमण हटाउने नगरपालिकाले जनाएको छ ।












प्रतिक्रिया