
-आकाश देबकोटा
बाँके, १३ जेठ । सरकारले बाँके जिल्लामा संचालन गरेको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत गठन गरिएका ७ सय ६२ टोल पढाई समूहलाई निरन्तरता दिन समुदाय र स्थानीय सरकार दुबै सहमत भएका छन् ।
विदाको दिन पठनपाठन गर्ने भनि अभिभावकद्धारा गठन गरिएका टोल पढाई समूहले कक्षा १ देखि ३ सम्मका विद्यार्थिको पठन र लेखन सिपमा सुधार आउनुका साथै बिद्यालय भर्ना अभियानदेखि शिक्षाको चेतनासम्म बढेको ठहर गर्दै समुदाय र स्थानीय सरकार दुबैले ती समुूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका हुन् ।
नेपालगन्जमा आयोजना गरिएको प्रारम्भिक कक्षा पढाई सिप प्रवर्द्धका लागि जिल्लास्तरीय नेतृत्व विकास कार्यक्रममा सहभागि विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र टोल पढाई समुहका संयोजकहरुले जुनसुकै अवस्थामा पनि टोल पढाई समूहलाई निरन्तरता दिने प्रतिवद्धता गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले टोल पढाई समूह र प्रारम्भिक कक्षा पढाई कार्यक्रमले गर्दा बाँकेको मधेशी र मुस्लिम समुदायमा शिक्षाप्रति ठूलो परिवर्तन आएकोले यो कार्यक्रमलाई अझै जारी राख्नु पर्ने बताए ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले कक्षा १ देखि ३ सम्मका बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि समुदायस्तरमा गठन गरिएका टोल पढाई समुहलाई निरन्तरता दिइने जनाउँदै त्यसका लागि गाउँपालिकाले आवश्यक बजेट समेत विनियोजन गर्ने बताए । उनले टोल पढाई समूहका कारण अभिभावक र बालबालिका दुबैमा ठूलो परिवर्तन आइरहेको हुँदा त्यसलाई निरन्तरता दिइनु पर्नेमा जोड दिए ।
यस्तै राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले टोल टोलमा गठन गरिएका टोल पढाई समूहले बालबालिकाको पढाई सिप बढाउनुका साथै अभिभावकलाई पनि सचेत पारेकोले आफ्नो गाउँपालिकामा यसलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले बालबालिका र अभिभावक दुबैलाई सचेत र जिम्मेवार बनाउने टोल पढाई समूहलाई निरन्तरता दिनु पर्नेमा जोड दिइन् ।
राप्ती सोनारी–३ टोल पढाई समूहका संयोजक जंग बहादुर थारुले कसैले सहयोग नगरेपनि आफूहरुले आफै आफ्नै श्रोतबाट पनि टोल पढाई समूहलाई निरन्तरता दिने बताए ।
सोही प्रकारले गनापुर टोल पढाई समूहका संयोजक जहीर अहमद शेष, खजुरा ए गाउँ टोल पढाई समूहका संयोजक अमृता खड्का, राप्ती सोनारी–५ टोल पढाई समूहका संयोजक रागनी ओली लगायतका दर्जन बढी संयोजकहरुले आफ्ना टोल पढाई समूहलाई निरन्तरता दिने बताएका थिए ।












प्रतिक्रिया