
काठमाडौं, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान् सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन । उनले वर्तमान सरकार प्रतिपक्षी र विपक्षी दलहरुको क्रियाकलापप्रति असहिष्णु हुनु सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको प्रमाण भएको जिकिर गरे ।
राष्ट्रियताको पक्षमा विगतमा लिएको अडान र केपी ओलीलाई जनताले मत दिएको तर, जनताको म्याण्डेटअनुसार शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउनेमा अहिले शंका पैदा भएको थापाको आरोप छ ।
अध्यक्ष थापाले भने, ‘भेनेजुएलामा ह्ुयोगो चाभेजले, टर्कीमा एर्डोगानले र रसियामा पुटिनले पनि संविधान र प्रजातन्त्रको आवरणमा नै सर्वसत्तावाद व्यवस्था कायम गरेका हुन्, संविधान बमोजिम प्रजातान्त्रिक आवरणमा, यति गरिसकेपछि चुनाव जित्नपनि गाह्रो नहुने, मिडियाले पनि चुईंक्क पनि बोल्न सक्दैन्, व्यापारीहरुको हालत त्यही हुन्छ, यो सर्कल अब नेपालमा सुरु हुन लागेको छ ।’ यद्धपी उनले अहिले नेपालमा यी कुराको संकेतमात्रै देखिएको सुनाए ।
थापाले अबको २ देखि ३ वर्षभित्रै वर्तमान सरकारले ९० प्रतिशत कर्मचारी, सुरक्षा निकाय, न्यायालय सबैमा आफ्नो प्रभाव जमाउने आशंका व्यक्त गरे ।
अध्यक्ष थापाले पछिल्लो समय धर्म परिवर्तन, भ्रष्टाचार, संविधानको आवरणमा बढ्दै गैरहेको सर्वसत्तावाद र बाह्य शक्तिको चलखेल प्रमुख चूनौतिको रुपमा देखा परेकोले यी सबै चूनौतिको सामना गर्नको लागि राष्ट्रियताको संरक्षण, हिन्दूराष्ट्रको पूर्नस्थापना, प्रजातन्त्रको सुदृढिकरण र प्रजातान्त्रिक शक्तिहरुका बीचमा एकता अनिवार्य आवश्यक रहेको सुनाए ।
’












प्रतिक्रिया