२ कार्तिक २०८३, सोमबार

सिलाईकटाई सिक्दैछन् लम्जुङका कैदिबन्दी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-बेलिना थापा

लमजुङ, ९ जेठ । जिल्ला कारागारमा रहेका कैदिबन्दी सिलाईकटाईमा सहभागि भएका छन् । कारागारका १३ जना पुरुष कैदिबन्दी, बुधबार देखि सुरु भएको ४५ दिने सिलाईकटाई तालिममा सहभागि भएका छन् । कारागार कार्यलय लमजुङ र घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको आयोजनामा बुधबारबाट तालिम सुरु भएको छ ।

सीप सिकौ स्वरोजगार बनौ, समृद्ध नेपालको निमार्ण गरौँ भन्ने नाराका साथ सुरु गरिएको तालिममा सहभागि भएका राजन पोखरेलले स्वरोजगार बन्नका लागि तालिमले आफूलाई सहयोग गर्न बताए । यस अघिको मुढा बुनाई तालिममा पनि सहभागि भएका उनले यस्ता खालका तालिममले जीवन बिताउन सहज हुने बताए । तालिमका प्रशिक्षक टिकाराम परियारले कैदिबन्दीलाई आफूले जाने सम्मको सीप प्रयोग गरि सिकाउने बताए । उनले कैदिबन्दीले सीप सिक्न आवश्यक रहेको बताए ।

घरेलु तथा साना उद्योग विकास समितिको कार्यलयका निमित्त कार्यालय प्रमुख लक्ष्मीप्रसाद ढकालले कार्यालयले यस अघि पनि अगरबत्ती बनाउने तालिम कैदिबन्दीका लागि प्रदान गरेको बताए । कारागारमा संचालन गरिएका तालिम प्रभावकारी भएको भन्दै आगामी दिनमा पनि आवश्यता अनुसार तालिम ल्याउने प्रतिवद्धता जनाए । नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङले तालिम दिन कटाउने माध्यमको रुपमा मात्र नभई सीप विकास गरी काम गर्ने सक्ने खालको हुनुपर्ने बताए । उनले स्वरोजगार हुन सकेमा कैदिबन्दीलाई जिवन विताउन सहज पुग्ने बताए ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले कैदिबन्दीलाई दिइएको यस्ता तालिमले सुधारिने मौका मिल्ने बताए । पुनः अपराधको बाटो समात्न नपरोस् भनेर सीप विकासमा जोड दिइएको उनले बताए । कारागारमा बस्दा ज्ञान, सीप सिक्दै सीपको सही सदुपयोग गर्न उनले आग्रह समेत गरेका छन् ।

३५ क्षमता रहेको लमजुङ कारागारमा हाल क्षमता भन्दा दोव्वर कैदिबन्दी रहेका छन् । ६ महिला र ६७ पुरुष गरि ७३ कैदिबन्दी रहेका छन् । कारागारमा कैदिबन्दीहरुले मुढा बनाउने, जुत्ता, चप्पल बनाउँने, कपडा सिलाउने, सिंके धुप बनाउने लयागतका कामहरु गर्दे आएका छन् ।