
काठमाडौं, ८ बैशाख । उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले उर्जा क्षेत्रको आधुनिक विकास नै समृद्धिको पहिलो आधार भएको स्पष्ट पारेका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रमले उर्जा क्रान्तिको ढोका खुलेको उनले बताए ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन । उनले भने, ‘सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उर्जा क्षेत्र उच्च प्राथकितामा परेको छ, आगामी १० वर्षभित्र १५ हजार मेघावट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ सरकारले बृहत्त योजनाहरु यसै वर्षभित्र शुरु गर्ने भएको छ, तीन वर्षमा तीन हजार, ५ वर्षभित्र १० हजार र १० वर्षभित्र १५ हजार मेघावाट विद्युत निर्माण गर्ने लक्ष्य हामीले लिएका छौं ।’
मन्त्री पुनले आधुनिक उर्जाको विकासले आर्थिक समृद्धि मात्रै नभएर रोजगारीको समेत सिर्जना हुने विश्वास दिलाए । उनले भने, ‘स्वेतपत्र, र नीति तथा कार्यक्रममा भनिएका सबै कुराहरु अक्षरंश कार्यान्वयन हुन्छन्, पहिलेकोजस्तो अस्थिर राजनीतिक अवस्था अहिले छैन, काम गर्ने समय मिलेन भन्ने अवस्था पनि छैन, २०७५ सालबाट आर्थिक समृद्धि र विकासको वर्ष शुरु भएको छ, यसलाई नै समृद्धिको आधार वर्षको रुपमा गणना गर्न अनुरोध गर्दछु ।’
उर्जामा आधुनिकीकरण गरेर आगामी ३ वर्षभित्र भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गर्नेतर्फ उर्जा मन्त्रालय जुटिसकेको पनि उनले जनाए । उनले थपे, ‘विद्युतीय चुल्हो, विद्युतीय सवारीहरुको खरिदजस्ता कामहरु गर्ने र ब्यापार घाटालाई प्रतिस्थापन गर्नेमा सरकारको तयारी रहेको छ, हामी त्यही अनुसार अघि बढिरहेका छौं ।’
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले नयाँ आशा जगाएको उनको विश्वास छ । मन्त्री पुनले भने, ‘नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको छ, संसारमा भएको विकास निश्चित व्यक्तिको हातमा परेको ईतिहास छ, हाम्रो देशको विकास र समृद्धिले गरिब जनताहरुको जीवनलाई सम्बोधन गर्नेछ, हाम्रो विकासको मोडल गरिब, निमुखा जनतातर्फ बढि केन्द्रित हुनेछ, यो नीति तथा कार्यक्रम सुझबुझकासाथ नै आएको छ ।’












प्रतिक्रिया