२१ कार्तिक २०८३, शनिबार

अनौपचाकि शिक्षा प्रणालीको संयन्त्र स्थानीय तहलाई हस्तान्तरण

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-आकाश देबकोटा

बाँके, ६ जेठ । अनौपचारिक शिक्षा प्रणालीको संयन्त्र तथा हालसम्मका सबै अभिलेख स्थानीय सरकारहरुलाई हस्तान्तरण गर्ने कार्य बाँकेबाट शुरु गरिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्रले देशमै पहिलो पटक नेपालगन्जमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर बाँकेका ८ वटै स्थानीय सरकारलाई अनौपचारिक शिक्षा प्रणालीको संयन्त्र तथा अभिलेख हस्तान्तरण गरेर उक्त कार्यको शुरुवात गरेको छ ।

बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्जमा आयोजना गरिएको हस्तान्तरण समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र अनौपचारिक शिक्षा केन्द्रका निर्देशक चुडामणी शर्माले बाँकेका ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई संयन्त्र र अभिलेख हस्तान्तरण गरे ।

सो अवसरमा नेपालगन्ज उपमहानगरका उपप्रमुख उमा थापा मगर, बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल, जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहीदा बानु, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्री र कोहलपुर नगरपालिकाका वडा अध्यक्षलाई संयन्त्र र अभिलेख हस्तान्तरण गरिएको थियो ।

अनौपचारिक शिक्षा प्रणालीको संयन्त्र तथा अभिलेख हस्तान्तरण गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले ७० बर्षदेखि अनौपचारिक शिक्षा केन्द्रले संचालन गर्दै आएको साक्षर बनाउने अभियानलाई अब स्थानीय सरकारले निरन्तरता दिनु पर्ने बताए ।

उनले देशका ७७ जिल्ला मध्ये ४७ वटा जिल्ला मात्र हालसम्म साक्षर जिल्ला घोषणा भएको र ११ वटा जिल्लालाई यस बर्ष साक्षर घोषणा गरिने जनाउँदै अब बाँकेले पनि छिटै आफूलाई साक्षर घोषणा गर्नु पर्ने बताए ।

हालसम्म अनौपचारिक शिक्षाले गर्दै आएको सबै काम अबदेखि स्थानीय सरकारले नै गर्नु पर्ने जनाउँदै अनौपचारिक शिक्षा केन्द्रका निर्देशक चुडामणी शर्माले सोही बारेमा जानकारी गराउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको बताए ।