
काठमाडौँ, ६ जेठ । एनसीसी बैंकमा गाभिएको तत्कालिन एपेक्स डेभलोप्मेन्ट बैंकमा भएको डेढ अर्ब रुपैयाँ घोटाला प्रकरणमा एक सय ४८ जनाविरुद्ध जिल्ला अदालत, पाटनमा मुद्दा दायर भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएपछि १ सय २७ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको हो । ब्यूरोले १ अर्ब २३ करोड ५४ लाख ४ सय ८२ रुपैयाँ बिगो माग दाबी गरेको छ ।
अनुसन्धानका लागि आएको १ सय २८ फाइल मध्ये ३२ वटाको सुर्खेत, इटहरी र नेपालगञ्जबाट ऋण प्रवाह भएकोले त्यसको अनुसन्धान त्यहीँको प्रहरीबाट भइरहेको छ । बाँकी ८५ वटा फाइलको सीआइबीले केन्द्रबाट अनुसन्धान गरेर मुद्दा दायर गरेको हो ।
एनसीसी बैंकसँग मर्जर प्रक्रियामा गएपछि तत्कालिन समितिले करिब दुई अर्ब रुपैयाँ घोटाला गरेको सीआईबीको अनुसन्धानले देखाएको थियो ।
तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको थियो ।
करिब २६ जना नक्कली ऋणि तयार पारेर पुँजी अपचलन गरिएको अनुसन्धानमा खुलेको थियो । यो बैंकिङ ठगी हालसम्मकै सबैभन्दा बढी रकम अपचलन भएको घटना भएको प्रहरी दाबी छ ।
घोटालामा संलग्न भएको आरोपमा प्रहरीले दुई महिनाअघि नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को बोर्ड बैठक बसिरहेकै बेला काँग्रेस महासमिति सदस्य तथा एपेक्स बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धितालसहित १३ जनालाई पक्राउ गरेको थियो ।
घोटाला प्रकरणमा ‘क’ वर्गाका ठेकेदार मनोज भेटवाल समेत पक्राउ परिसकेका छन् ।















प्रतिक्रिया