४ कार्तिक २०८३, बुधबार

लो–प्रोफाइलमा बस्न रुचाउने गायक माझी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गीत संगीतमा लागेर पनि सधै लो–प्रोफाइलमा बस्दै आएका युवा गायक शरणकुमार माझीले नयाँ गीत रेकर्डिङको तयारी गरेका छन् ।

लोक दोहोरी साँझमा गाउँदै आएका माझीले एकहप्ताभित्रै नयाँ गीत बजारमा ल्याउने गरेर तयारी थालेका छन् । गीतमा माझी र गायिका दीपिका मगरको स्वर रहनेछ ।

दाङबाट ७–८ वर्ष अगाडि काठमाडौं प्रवेश गरेका माझीले गीतसंगीतमा लाग्न ठूलै मेहनत गरेको बताउँछन् । भन्छन्, ‘दिनरात नभेनर यो क्षेत्रमा लागियो । अहिले पनि गीतसंगीत सिक्दैछु । अझै सिक्न बाँकी छ ।’ सुरुवाती दिन देखिनै माझीले गीतहरूमा स्वर पनि दिन थालेका थिए । ती गीतहरूले नै माझीलाई गायक भनेर चिनाएको हो ।

बेलाबेला विभिन्न सांगीतिक कार्यक्रमहरूमा पनि गायक माझी जाने गरेका छन् । गीतसंगीतकै कारण काठमाडौंको महँगो जीवन धान्न सजिलो भएको उनको भनाइ छ । ‘गीतसंगीतभन्दा अरु केही काम गरेको छैन’, उनले भने, ‘अहिलेसम्म काठमाडौंको बसाइ राम्रै छ । हेरौँ भविष्यमा के हुन्छ ?’

‘चिठी फोटो जल्न बाँकी छ’, ‘तिमी मेरी माया’ जस्ता थुप्रै गीतहरूमा उनको स्वर सुन्न पाइन्छ । गीतहरूमा स्वर दिँदै आएका गायक माझी इमजे टेलिभिजनको लोककलाकार प्रतियोगितामा समेत भाग लिएका थिए । प्रतियोगितामा माझीले छैटौँ स्थानसम्म आफ्नो उपस्थिति जनाए । तर, अन्तिममा बाहिरिएका थिए ।

माझीले सबै प्रकारका गीत गाउन सक्छन् । भन्छन्, ‘लोक दोहोरी मात्रै होइन सबै प्रकारका गीत गाउन सक्छु । गाएको पनि छु ।’ दोहोरी साँझमा गाउँदा गाउँदै स्वरमा निखार आएको उनको बुझाइ छ ।

राम्रो गीत गाएकै कारण माझीले दुबइस्थित एउटा दोहोरी साँझमा एक वर्ष गीत समेत गाइसकेका छन् । ‘राम्रो गाउने हो र राम्रो काम गर्ने हो भने सबैको माया पाइन्छ’, उनले दुबइ बसाइको सम्झना गर्दै भने, ‘मेहनत नै सबैभन्दा ठूलो कुरा हो । आफूमा इमान्दारिता पनि हराउनु हुँदैन ।’